इलाम । एक सय वर्षभन्दा लामो परम्पराको धरोहर इलामको मौलिक रोपाइँ जात्रा यस वर्ष पनि भव्यता र उत्साहका साथ सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम इलाम बजारमा मनाइएको यो जात्रा राणा शासनकालमा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.सं. १९७२ मा शुरु गरेका हुन् । यो परम्परालाई नेवार समुदायमा गठेमंगलपछि चाडपर्वको शुरुवातको प्रतीक मानिन्छ ।
जिल्लाको सदरमुकाम इलाम बजार यो जात्रा मनाउने क्रममा सांस्कृतिक रङ्गले रंगिएको थियो । गोरु, हली, बाउसे र रोपाहारको अभिनयसहितको रोपाइँ जात्राले गाउँको वास्तविक रोपाइँ दृश्यलाई पुनः जीवन्त गराएको थियो । असारे भाकामा धान रोप्दै, गीत गाउँदै र हाँसो–ठट्टासहितको दृश्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थिया । जात्रा हेर्न छिमेकी जिल्ला पाँचथर, झापासहित भारतका विभिन्न स्थानबाट पर्यटक आएका थिए । स्थानीय पर्वको रूपमा मनाइने भएकाले इलाम नगरपालिकाले स्थानीय बिदासमेत दिएको थियो ।
नेपालभाषा तथा संस्कृति समाजको अगुवाइमा विगत वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ यो जात्रा । यो जात्राले पर्यटन प्रवद्र्धन मात्र होइन, मौलिक संस्कृतिको संरक्षणमा समेत ठूलो योगदान पु¥याउँदै आएको नेपाल भाषा तथा संस्कृति समाज, इलामका अध्यक्ष प्रविन श्रेष्ठले बताउनुभयो । सदरमुकामबाहेक जिल्लाको विभिन्न पालिकामा पनि फरक–फरक दिन यो जात्रा निकालिँदै आएको छ । यस जात्राले स्थानीय संस्कृतिको संरक्षण मात्र होइन, सांस्कृतिक एकतामा जोड र युवा पुस्तामा संस्कृतिको संरक्षणमा जोड दिने जात्रा हेर्न आइपुगेकाहरु बताउँछन् ।
इलाममा लगाउँदै आएको रोपाइँ जात्रालाई नेवारी समुदायले मात्र नभएर अन्य जातजाति, भाषा, धर्म भएकाहरुले पनि प्रमुखरुपमा लिने गरेका छन् । युवा पुस्तामा मौलिक संस्कृति सिकाउने र जगेर्ना गर्ने पर्व हो यो । यस जात्राले पर्यटन र सांस्कृतिक पहिचान दुवैलाई मजबुत बनाएको छ । जनैपूर्णिमा सकिएपछि कृष्ण जन्माष्टमी आउनुअघिको बिहीबार यो जात्रा निकाल्ने परम्पराअनुसार यस वर्ष पनि निरन्तरता पाएको हो । माटोको सुगन्ध, गीत–संगीत र एकताको सन्देशसहित इलामको यो रोपाइँ जात्रा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । सदरमुकामको माईस्थानबाट जात्रा निकालिएको थियो । जात्रामा रोपाहार, हली, बाउसे, लाखेसहित विभिन्न विधामा एक सयभन्दा कलाकारले अभिनय गरेका थिए ।











प्रतिक्रिया