काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदका लागि भएको प्रतिस्पर्धामा रहेकी डा. संगीता कौशल मिश्राले आफू वरीयता क्रममा स्वास्थ्य मन्त्रालयको सचिव हुनुपर्ने दाबी गर्दै मन्त्री परिषद्ले गरेको निर्णयविरुद्ध सर्वोच अदालतमा मुद्दा दायर गर्नुभएको छ ।
मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयका सचिवमा डा. विकास देवकोटा नियुक्त गर्ने निर्णय गरेकोमा उहाँले असन्तुष्ट व्यक्त गरी सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको हो । उहाँले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालाई विपक्षी बनाई मुद्दा दायर गर्नुभएको छ । उहाँले दायर गरेको मुद्दा किनारा लागेको छैन ।
यो अवधिमा २०८१ फागुको अन्तिम सातादेखि डा. मिश्रा सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै तलबी बिदामा बस्नुभएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासनमा उहाँले बिदा पेस गरी अफिसमा हाजिर नभएको लामो समय भए पनि उहाँको तलब भने खातामा गइरहेको मन्त्रालय स्रोतले जनाएको छ । यता डा. मिश्रासँग टेलिफोनमार्फत सर्वोच्चको मुद्दाको विषय के हुँदै छ डाक्टरसाब भन्दा ‘मलाई थाहा नै छैन म त घरमा छु, पारिवारिक कार्यक्रममा छु पछि कुरा गर्छु’ भन्नुभयो ।
त्यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डा. मिश्रा बिदामै हुनुभएको र उहाँको निश्चित सञ्चित बिदा सकियो भने बिरामी बिदा, घर बिदा, क्याबिन बिदा पनि लिन पाउने बताउनुभयो । उहाँ फागुनको अन्तिम सातादेखि बिदा बस्नुभएको छ तर कुन बिदा बस्नुभएको छ भन्ने थाहा छैन । यस विषयमा प्रशासन सचिवालयले हेर्ने उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासनतर्फका सचिव दिल्लीराम शर्माले आफू भर्खरै नयाँ आएको र उहाँको बिदा कानुनसम्मत नै होला थप जानकारी प्रवक्तासँग लिनुस् भन्नुभयो ।
यतिबेला उहाँले पाउने बिदा र निजामती कर्मचारीले पाउने बिदा के फरक हो र भन्दै कर्मचारीहरू मन्त्रालयमा प्रश्न गर्न थालेका छन् । कर्मचारीले पाउने बिदा ९० दिनभन्दा बढी अर्थात् सञ्चित बिदा थप गर्न वा असाधारण बिदा लिनका लागि मन्त्रिपरिषद् वा लोकसेवा आयोगको निर्णयअनुसार मात्र लिन पाउने प्रावधान रहेको भए पनि उहाँले के कसरी बिदा लिनुभएको छ भन्ने बारेमा मन्त्रालयका प्रशासन शाखा नै अन्योलनमा देखिन्छ । निजामती कर्मचारीले पाउने बिदाको नियम सबैलाई समान हुनुपर्ने विषयमा स्वास्थ्य मन्त्रालयभित्रै आवाज उठ्न थालेको छ ।
डा. मिश्राले परोपकार प्रसूति स्त्रीरोग अस्पतालकी निर्देशक तथा प्रमुख सल्लाहकार हुँदै नेपालमा महिला स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सेवा र नीतिगत तहमा महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँ राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) मा सह—प्राध्यापकसमेत रहनुभएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइमा डा. मिश्राले क्लिनिकल अभ्यासदेखि नीति निर्माणसम्म, अनुसन्धानदेखि कार्यान्वयनसम्म सबै तहमा सन्तुलित नेतृत्व देखाइसुक्नुभएको छ ।











प्रतिक्रिया