श्रीलंकामा पनि बीवाईडीको उस्तै बद्मासी

गम्भीर छानबिन गर्न अदालतको आदेश


काठमाडौं ।

विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार चिनियाँ विद्युतीय गाडी निर्माता बीवाईडीले नेपालमा जस्तै श्रीलंकामा पनि कर छली गरेर बद्मासी गरेको पाइएको छ । श्रीलंकाको भन्सार कार्यालयले मोटर क्षमता कम देखाएर कर तिर्नबाट जोगिएको भन्दै करिब १ हजारभन्दा बढी बीवाईडी कार भन्सारमा रोक्दै अनुसन्धान शुरू गरेको छ ।

श्रीलंकाको अदालतले मोटर क्षमताबारे अध्ययन गर्न त्यहाँको मोराटुवा विश्वविद्यालयका विज्ञसहितको समिति गठन गर्न आदेश दिइसकेको छ । परीक्षणका लागि श्रीलंकाली प्राधिकरणले बीवाईडीका ६ वटा कार भन्सारमै राखेको छ । आयातकर्ताले भने नेपाल र सिंगापुरका लागि जस्तै, कम्पनीले श्रीलंकाका लागि कम क्षमताको भेरियन्ट उत्पादन गर्ने गरेको दाबी अदालतमा प्रस्तुत गरेका छन् ।

श्रीलंकाली बजारमा हालसम्म २ हजार ५ सयभन्दा बढी बीवाईडीका कार बिक्री भइसकेका छन् । तर, विवाद बढेपछि नयाँ गाडीहरू भन्सारमै अड्किएका छन् । श्रीलंककाको भन्सार कार्यालयका अनुसार, बीवाईडीको आधिकारिक बिक्रेता जेकेसीजी अटोले १५० किलोवाट मोटर भएको गाडीलाई १०० किलोवाट, ७९ किलोवाटलाई ४९ किलोवाट घोषणा गर्दै आयात गर्दै आएको छ । यसरी मोटर क्षमतामा गडबडी गरी कम महसुल तिरिएको पुष्टि भएको छ ।

श्रीलंकामा १०० किलोवाट क्षमताको गाडीमा करिब २४ लाख श्रीलंकाली रुपियाँ (करिब १२ लाख नेपाली रुपियाँ) अन्तःशुल्क लाग्छ भने १५० किलोवाट क्षमताको गाडीमा कर ५४ लाख श्रीलंकाली रुपियाँ अन्तःशुल्क लाग्छ । कम्पनीले ७९ किलोवाटको डल्फिन डाइनामिकलाई ४९ किलोवाट, १५० किलोवाटको डल्फिन प्रिमियमलाई ९९ किलोवाट, १२० किलोवाटको एम–६ लाई १०० किलोवाट र १५० किलोवाटको सिल डाइनामिकलाई १०० किलोवाटको भनेर बिक्री गर्दै आएको आरोप पनि छ ।

यसअघि पनि बीवाईडी एट्टो–३ मोडेलका करिब १ हजार गाडी भन्सारमा रोकिएका थिए । तर, उक्त मुद्दा अदालतमा विचाराधीन रहँदा आयातकर्ताले करिब ३ अर्ब ६० करोड श्रीलंकाली रुपियाँ (करिब १ अर्ब ८० करोड नेपाली रुपियाँ) बराबरको बैंक जमानत बुझाएर ती गाडी अस्थायी रूपमा ग्राहकलाई बिक्री गरेको थियो ।

हाल रोकिएका गाडीहरूमा करिब ४५० वटा एट्टो–३, २५० वटा डल्फिन, २०० वटा एट्टो–१ र १०० वटा एट्टो–२ रहेका छन् । यसपटक पनि करिब ३ देखि ४ अर्ब रुपियाँ बराबरको बैंक ग्यारेन्टी मागिने अनुमान गरिएको छ । यो विषय अब त्यहाँको संसद्सम्म पुगेको छ ।

श्रीलंकाली संसद्को सार्वजनिक वित्त समितिको बैठकमा भन्सार विभागका वरिष्ठ निर्देशक सीवाली अरुकगोदाले सबै गाडीहरू १०० किलोवाट मोटरसहित घोषणा भए पनि ती वास्तवमा १५० किलोवाट हुन सक्ने आशंका गरिएको प्रष्ट पार्नुभएको थियो । विपक्षी सांसद मुजिबुर रहमानले संसद्मा नयाँ र पुराना बीवाईडी एट्टो–३ बीच करिब ४५ लाख रुपियाँ बराबरको कर असमानता रहेको तथ्य प्रस्तुत गर्नुभएको छ ।