काठमाडौं ।
चीनको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन गत शनिवार चीन पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिने भ्रमण सकेर आज स्वदेश फर्कंदै हुनुहुन्छ ।
उहाँले चीन भ्रमणको तेस्रो दिन तियानजिनमा आयोजित एससीओ शिखर सम्मेलनमा नेपालको सहभागिता जनाउँदै सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा उहाँले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जिजिआई) ले राष्ट्र संघलाई केन्द्रमा राखेर समुदायका साझा भविष्यका लागि अझ न्यायपूर्ण, समावेशी र समतामूलक बनाएर बहुपक्षीय प्रणालीलाई सुदृढ गर्न नेपालले मद्दत गर्ने पनि बताउनुभयो ।
यसअघि चीन भ्रमणको पहिलो दिन प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग लिपुलेक नेपाली भूभाग भएकाले लिपुलेकमा चीन र भारतबीच हालै भएको व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने सहमति आपत्तिजनक रहेको बताउनुभएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार तियानजिनस्थित चिनियाँ अतिथि गृहमा भएको द्विपक्षीय भेटका क्रममा उहाँले राष्ट्रपति सीलाई सन् १८१६ मा भएको सुगौली सन्धिको महत्व स्मरण गराउँदै महाकालीपूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको भएको स्पष्ट पार्नुभएको थियो ।
चिनियाँ राष्ट्रपति सि भने सीमा विवाद नेपाल र भारतबीच वार्ताद्वारा समाधान गर्नुपर्ने धारणा राख्दै पन्छिनु भएको थियो । यद्यपि, कूटनीतिक वृत्तमा भने लिपुलेक व्यापार मार्गबारेको प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सिसँग राख्नुभएको आपत्ति अझै चर्चामा रहेको छ ।
चीन भ्रमणको दोस्रो दिन आइतबार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक कार्यक्रमको सिलसिलामा अनौपचारिक भेटघाट भएको थियो । भेटलगत्तै मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री ओलीसँगको तस्बिर हाल्दै ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियानजिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु ।
भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ’ भनेर लेख्नुभएको थियो । चिनियाँ राष्ट्रपतिको भेटमा लिपुलेकको व्यापारिक मार्गबारे असन्तुष्टि पोख्नुभएका प्रधानमन्त्री ओलीले उक्त भेटमा भारतीय प्रधानमन्त्री मोदीसँग भने उक्त विषयको उठान गर्नुभएन ।
चीन भ्रमणकै क्रममा मंगलवार तियानजिनबाट बेइजिङ पुग्नुभएका प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान जेनसँग शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री ओलीले चीनले सफलतापूर्वक एससीओ शिखर सम्मेलन सम्पन्न गरेकोमा बधाई दिनुभएको थियो ।
चीनमा रहँदा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओका प्रधानमन्त्री सोनेसाई सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि भेट गर्नुभएको थियो ।











प्रतिक्रिया