अनुशासित आत्मरक्षात्मक खेल ‘कराते’

0
Shares

धेरैजसो मानिसहरू सोच्छन् कि कराते भनेको केवल लड्ने कुरा हो, तर त्यो सत्यभन्दा धेरै टाढा छ । लडाइँ झगडा प्रायः अस्तव्यस्त र अरूलाई हराउने या दबाउनेमा केन्द्रित हुन्छ । कराते भनेको अनुशासन, सम्मान र आत्मनियन्त्रणमा आधारित हुन्छ । यो केवल आत्मरक्षाको कुरा होइन, यो शरीर, मस्तिष्क र आचरणलाई विकास गर्ने माध्यम हो । करातेले केवल कसरी प्रहार गर्ने मात्र होइन, प्रहार गर्नु हुन्न भनेर पनि सिकाउँछ । यो अरुसँग फाइट जित्ने कुरा मात्र होइन, यो आफैँमाथि विजय पाउने कुरा पनि हो ।

कराते शैलीहरू

करातेको “कुल संख्या” भनेर निश्चित रूपमा भन्न सकिने कुनै आधार छैन । तर, करिब पाँचवटा प्रमुख र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त शैलीहरू छन् । ती हुन सोतोकान, गोजुरियो, सितोरियो, वादोरियो र क्योकुशिन । यीबाहेक, धेरैजसो कम प्रचलित वा क्षेत्रीय रूपमा अभ्यास गरिने शैलीहरू पनि छन्, जसले गर्दा विश्वभर सयौं फरक शैलीहरू विकसित भएका छन् । प्रत्येक शैलीको आ–आफ्नै विशेषता हुन्छ । जस्तै, काता र कुमितेमा विविधता र तालिममा जोड दिइने पक्षहरू छन । कराते एउटा युद्धशैली मात्र होइन, यो एक विशाल परम्परा हो जसमा विभिन्न देश, गुरु र अभ्यासद्वारा विभिन्नता विकास भएको छ । हरेक शैलीको आफ्नै दृष्टिकोण र विशेषता हुन्छ । जुन फरक ब्यक्ति विशेष, स्थान, लक्ष्य, शरीर र मानसिकता अनुसार सिर्जना गरिएका छन

प्रमुख शैलीहरू :

करातेका यी ५ शैलीहरू सबैभन्दा प्रख्यात र विश्वभर व्यापक रूपमा अभ्यास गरिन्छ ।

सोतोकान : लंग स्टान्स र शक्तिशाली, सिधा चालहरूको लागि परिचित ।

गोजुरियो : “कठोर–कोमल” शैली जसमा घुमाउरो चाल, जोइन्ट लक र सास नियन्त्रण प्रविधिहरूमा जोड दिइन्छ ।

सितोरियो : कठोर र कोमल प्रविधिहरूको संयोजन, विशेषगरी काता (ढाँचा अभ्यास) मा जोड दिइन्छ ।

वादोरियो : टार्न सक्ने चाल, शरीर सर्ने प्रविधि र छिटो प्रतिप्रहारमा केन्द्रित ।

क्योकुशिन : फुलकन्ट्याक्ट कराते जो शरीरको हरेक अंग जुध्ने ढाँचामा केन्द्रित हुन्छ । यसले कडा अनुशासन र आत्मरक्षामा पनि जोड दिन्छ ।

कराते प्रशिक्षणमा हुने मुख्य ३ कुरा:

किहोन (मूल कुरा) – बलियो आधार तयार पार्न ।

काता (ढाँचाहरू) – अनुशासन र कलात्मक आत्मरक्षा अभ्यास गर्न ।

कुमिते (लडाइँ) – सीपहरू नियन्त्रण र सम्मानसाथ प्रयोग गर्न ।

किन कराते पोशाक छोटा हुन्छन् ?

विभिन्न मार्शल आट्र्स पोशाकहरूको तुलना गर्ने हो भने करातेको पोशाक जसलाई जापानी भाषामा “गि” भनिन्छ, प्रायः जुडो वा तेक्वान्दोमा प्रयोग हुने पोशाकहरूभन्दा हातको र खुट्टातिरको भाग छोटो हुन्छ । कराते गि केवल शरीर ढाक्ने पोशाक मात्रै होइन, यो स्वयं करातेको एउटा महत्वपूर्ण हिस्सा हो । करातेको प्रत्येक चाल र कला सिक्न अभ्यासकर्ताहरुलाई सहज होस भन्ने उद्देश्यले डिजाइन गरिएको वस्त्र हो । प्रत्येक सिलाई, टाँकाले कराँतेको कार्यकुशलता र दर्शनलाई प्रतिनिधित्व गर्छ । यो डिजाइन यत्तिकै बनाइएको होइन, यसको पछाडि व्यावहारिक कारणहरू छन् ।

परम्परा

सुरुका दिनहरूमा जापानको ओकिनावा टापूका कराते अभ्यासकर्ताहरूले तीब्र गतिका लागि सहज होस् भनेर लामो जुडो–शैलीको पोशाकलाई छरितो रूपमा काटेर परिवर्तन गरेका थिए । समयक्रममा यही छोटो ढाँचाले कराँतेको मानक रूप लियो । यसले टापुको युद्ध–कला अनुकूलनलाई प्रतिबिम्बित गर्छ ।

गतिशीलता

करातेमा गति, सटीकता र आक्रामक टेक्निकहरूमा जोड दिइन्छ । छोटो पोशाकले मुक्का, रोकथाम र लातजस्ता प्रहारहरूमा कपडाले बाधा नहोस् भनेर सुनिश्चित गर्छ । यो डिजाइन तीव्र अभ्यास, छिटोछरितो रुपमा खुट्टाको चाल र गतिशील “काता” प्रदर्शनलाई समर्थन गर्छ ।

टेक्निक स्पष्टता

प्रशिक्षक र निर्णायकहरूले “काता” र “स्पेरिङ” को क्रममा नाडी र खुट्टाको अवस्थालाई स्पष्ट रूपमा हेर्नुपर्ने हुन्छ । छोटो गिले चाल र टेक्निक देख्न सजिलो बनाउँछ । जसले प्रतिस्पर्धाको समयमा सही मूल्याङ्कन र प्रतिक्रिया दिन सहयोग गर्छ ।

दृढता

छोटा कपडा कडा प्रशिक्षणका क्रममा च्यातिने सम्भावना कम हुन्छ । हात र खुट्टातिरको छोटो लम्बाईले गर्दा “कुमिते” मा प्रतिद्वन्द्वीले गि समाउने सम्भावना पनि कम बनाउँछ, र कराते नियममा अनुमति नभएको पोशाक च्यातिने सम्भावनाबाट पनि जोगाउँछ ।

खेलको सुन्दरता

सफा, छोटो डिजाइनको पोशाकले करातेको अनुशासन र कार्यक्षमताको प्रतीकको रुपमा व्यक्त गर्छ । राम्रोसँग मिलेको गि ले प्रहार वा मुद्राको धारिलोपन झन् प्रस्ट देखिन्छ । जसले प्रत्येक चालको दृश्य प्रभावलाई बढाउँछ ।

धुनु र सुकाउन सजिलो

छोटो पोशाकहरू धोएपछि चाँडो सुक्छन् । यो विशेषगरी हप्तामा धेरैपटक शारारिक अभ्यास गर्नेहरूको लागि उपयोगी हुन्छ । किनभने दैनिक रुपमा शारारिक अभ्यासपछि निस्कने पसिनाले पोशाकलाई चाडै मैलो बनाउँछ र धुनुपर्ने हुन्छ । सानो आकारको कपडालाई इस्त्री गर्न र थन्क्याउन पनि सजिलो हुन्छ ।

शैलीगत विविधता

विभिन्न कराते शैलीहरूमा पोशाकको आकार वा लम्बाइमा केही फरक पाउन सकिन्छ । उदाहरणका लागि, क्योकुशिन कराते अभ्यासकर्ताहरूले फुल–कन्ट्याक्ट फाइटमा आफूलाई अलि बढी नै खुल्ला गर्नुपर्ने हुन्छ । त्यसैले हाततिरको लम्बाई अलि कम भएको पोशाकलाई प्राथमिकतामा राख्ने गर्छन । जबकि सोतोकान करातेका अभ्यासकर्ताहरूले केही लामो अर्थात नाडीसम्म पुग्ने पोशाक रोज्ने गर्छन् । जसले “काता” प्रदर्शनको क्रममा स्पष्ट कलालाई देखाउन मद्दत गर्छ ।