रास्वपा उम्मेदवार डा. लेखजङ थापाले सार्वजनिक गरे सम्बन्ध विच्छेदको अदालती कागज


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रूपन्देही–३ का उम्मेदवार डा. लेखजङ थापाले आफ्नो निजी जीवनबारे उठेका प्रश्नबीच सम्बन्ध विच्छेदको प्रमाणित अदालती कागज सार्वजनिक गरेका छन्।

न्युरोचिकित्सक समेत रहेका थापाले सामाजिक सञ्जालमार्फत उक्त कागज प्रस्तुत गर्दै जीवनमा दुई पटक विवाह भएको र एक सम्बन्ध विच्छेदमा टुंगिएको सत्य स्वीकार गरेका हुन्। उनले भनेका छन्, “यो मेरो निजी जीवनको सत्य हो, मैले यसबारे पार्टीलाई पनि जानकारी दिएको छु र कानुनी प्रक्रिया पूरा भएको प्रमाण मसँग छ।”

थापाले सम्बन्ध विच्छेदपछि पनि सन्तानसँग साझा अभिभावकत्व दिइरहेको उल्लेख गर्दै भनेका छन्, “सम्बन्ध टुटे पनि बच्चाको भविष्यलाई सुरक्षित राख्न म सदैव सचेत छु।”

उनले आफ्नो पारिवारिक जीवन कानुनसम्मत रहेको स्पष्ट गर्दै, आफूमाथि भएको प्रश्नलाई व्यक्तिगत आक्रमण नभई सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको सुनियोजित प्रहारको रुपमा व्याख्या गरेका छन्।

थापाले थप भनेका छन्, “म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। रूपान्तरणकारी राजनीति गर्न बल बन्न चाहन्छु, कमजोरी होइन।”