काठमाडौँ ।
अविरल वर्षाका कारण कञ्चनपुर र नुवाकोटमा समस्यामा परेका ३९ जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ र ८ को सिमानामा पर्ने जोगबुढा नदीमा आएको बाढीले जर्गा टोल र रामपुरे ट्यापु गाउँ डुवानमा परेपछि कञ्चनपुरस्थित रणसिंहदल गणबाट खटिएको सेनाको टोलीले रबर बोट र विपद् व्यवस्थापनका सामग्री प्रयोग गरी २५ जनाको उद्धार गरेको हो। उद्धार गरिएका मध्ये ९ जना पुरुष, ११ जना महिला र ५ जना बालबालिका रहेका छन्।

यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–४, पिंक हाईट क्षेत्रमा हाइकिङ्गमा गएका बेला बाटो बिराई हराएका १४ जनालाई नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको टोलीले राति करिब १० बजेतिर सकुशल उद्धार गरेको हो। हराइएका मध्ये ११ जना महिला र ३ जना पुरुष रहेका थिए।

नेपाली सेनाले विपद् तथा आकस्मिक अवस्थामामा नागरिकको ज्यान र सुरक्षालाई प्राथमिकतामा राखी उद्धार कार्यलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ।











प्रतिक्रिया