काठमाडौं – थानकोट प्रहरी वृत्तको नयाँ भवन उद्घाटन, अमर प्रहरीको सम्झनामा धारो निर्माण


काठमाडौँ। 

काठमाडौं उपत्यकामा तत्कालीन माओवादी विद्रोहीले गरेको आक्रमण सम्झँदै थानकोट प्रहरी वृत्तको नयाँ कार्यालय सोमबार उद्घाटन गरिएको छ। २०६२ माघ १ मा थानकोटस्थित सुरक्षा जाँच चौकीमा डीएसपी महेश कुमार रावलसहित ११ जना प्रहरीको ज्यान गएको थियो।

उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले नवनिर्मित प्रहरी वृत्त थानकोट उद्घाटन गर्दै भने, “विश्वस्तरको प्रविधि प्रयोग गरेर अपराध अनुसन्धान गर्ने हाम्रो योजना छ।” उनले तत्कालीन घटनालाई सम्झँदै भने, “म सोही बेला इन्स्पेक्टर थिएँ र वडा प्रहरी कार्यालय सोह्रखुट्टेमा कार्यरत थिएँ, त्यसबेला हामी थानकोटसम्म पुग्न सक्दैनथ्यौं।”

५ वर्षमा निर्माण सम्पन्न भएको प्रहरी वृत्त थानकोटको भवन ४ तलाको रहेको छ र यसको निर्माणमा ६ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ। निर्माण कार्य किराँतेश्वर कन्स्ट्रक्सनले गरेको हो।

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले भने, “विगतको आरोह–अवरोह भोगेर हामी अहिलेको अवस्थामा आएका छौँ।” जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले लामो प्रतीक्षापछि त्रिभुवन पार्कबाट नयाँ आधुनिक भवनमा सर्न सफल भएको जानकारी दिए।

भवन उद्घाटन कार्यक्रममा डीआईजी ओम राना, उपमेयर बसन्ती श्रेष्ठ, उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारी, उपत्यका प्रहरी कार्यालयका एसपी काजी कुमार आचार्य, प्रहरी प्रधान कार्यालयका डीएसपी शंकर खड्का लगायतका उच्च अधिकारीहरू उपस्थित थिए।

अमर प्रहरीहरूको सम्झनामा थानकोट प्रहरी वृत्तकी डीएसपी एलिजा गिरीले कार्यालय परिसरमा परम्परागत धारो निर्माण गरेकी छन्। यो धारो उद्घाटन गर्दै एआईजी तामाङले भने, “डीएसपी गिरीले अमर प्रहरीको सम्झनामा धारा निर्माण गरेर इनोभेटिभ काम गर्नुभएको छ।”

२०६२ माघ १ को घटनामा डीएसपी महेश कुमार रावल, इन्स्पेक्टर रत्न बहादुर सुवेदी, इन्स्पेक्टर प्रकाश केसी, हवल्दार डिकेन्द्र कुमाल, हवल्दार सुर्यमान तामाङ, हवल्दार दिपेन्द्र निरौला, हवल्दार रविन कुमार कार्की, सई यादव राज केसी, हवल्दार मिठ्ठु राम कार्की, हवल्दार ईश्वरी दाहाल र हवल्दार बाबुराम अधिकारीले ज्यान गुमाएका थिए।