उदयपुर ।
उदयपुरको मोतीगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा नेपाल लाइब्रेरी फाउण्डेसनको गृह पुस्तकालय अभियान, कोशी प्रदेश समन्वय समितिको आयोजनामा र श्री त्रियुगा जनता बहुमुखी क्याम्पस र गृह पुस्तकालय अभियान उदयपुर जिल्ला समन्वय समितिको सहकार्यमा १८ औँ पुस्तकालय दिवस आइतबार भव्य रूपले मनाइएको छ ।
श्री त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख सह प्राध्यापक डा. कैलाश कुमार राईको प्रमुख आतिथ्यतामा र गृह पुस्तकालय अभियान कोशी प्रदेश समन्वय समितिका संयोजक माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि राईले पुस्तकालय हाम्रो पठन संस्कृतिको विकासकालागि अपरहार्य भएको र हामीले पुस्तकबाटै ज्ञान लिएर आजको अवस्थामा आएको हुँदा आफूले पनि अध्ययन गर्ने र अरुलाई पनि अध्ययनमा रुचि जगाएर भविष्यमा पठन संस्कृतिको बढोत्तरी रूपले विकास हुने बताए ।
कार्यक्रममा त्रियुगा जनता बहुमुखी क्याम्पसका उपप्राध्यापक टीका प्रसाद पौडेलले नेपालमा गिर्वाणयुद्ध शाहका पालादेखि पुस्तकालयको चलन भएको जानकारी दिंदै पुस्तकालयको महत्व र यसले हामीलाई हुने फाइदाका बारेमा बोलेका थिए ।
कार्यक्रममा संयोजक पोखरेलले नेपाल लाइब्रेरी फाउण्डेसनले नेपालमा पठन संस्कृति लोप हुँदै गएको, युवा युवतीहरुमा विकृति, कुलत मौलाउँदै गएकोले गृह पुस्तकालय अभियान मार्फत प्रत्येक पालिकामा, आधारभुत विद्यालयदेखि माध्यमिक विद्यालय तथा कलेजसम्म र वडा कार्यालय तथा टो विकास संस्थामासमेत पुस्तकालय स्थापना गरेर पठन संस्कृतिको विकासमा जनप्रतिनिधिहरुले समेत सहयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा उपप्राध्यापक हिमाल खड्का, श्रवण कुमार मिश्र, राजेश कुमार चौधरी लगायतका वक्ताहरुले गृह पुस्तकालयका बारेमा आ आफ्नो धारणा व्यक्त गरेका थिए ।











प्रतिक्रिया