खोटाङ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा चालकलाई बन्दुक तेर्साउँदै यात्रुसहितको टाटा सुमोलाई रोकिएको छ । खार्मीबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७३ नम्बरको सुमोलाई सोमबार बिहान करिब ८ : ३० बजे स्थानीय श्यामकुमार राईले बन्दुक सहित रोकेको हो ।
आफूहरुले सडक मर्मत गरेको भन्दै रकम माग गरेका करिब ५५ बर्षीय राईले बाँझोबारीस्थित आफनै घर अगाडी बन्दुक तेर्साएको चालक सबिन तामाङले बताए । राईले सडकमा बाँस तथा मुढाहरुले सडक अवरोध पारेका थिए । बन्दुकलाई राईकै श्रीमती लगायतले खोसेको यात्रु खार्मी, तुर्खाका दिलिप राईले बताए ।
आईतबार समेत यात्रु लिएर दिक्तेल जाँदै गर्दा आफूलाई पैसा मागेको चालक तामाङले जनाएका छन् । तर सो दिन काठमाण्डु जाने यात्रुलाई समयमै दिक्तेल पु¥याउनुपर्ने भन्दै सुमो पार गराएको तामाङको भनाई छ । आईतबार नै अर्का सुमो चालक जीवन कार्कीबाट भने राईले तीन हजार रुपैंयाँ असुलेको बताईएको छ । तामाङकै पछि–पछि ना १ ज ८१६९ नम्बरको सुमो चलाईरहेको कार्कीबाट घर अगाडी नै रकम लिएको हो ।
घटना लगत्तै चालक सबिनले अस्थायी प्रहरी चौकी खार्मीमा खबर गरेका थिए । घटनास्थल अर्थात राईको घरमा टोली पुग्दा घरमा ताला लगाईएको पाईएको प्रहरी चौकीका इन्चार्ज वरिष्ठ हवल्दार बिन्द्रबहादुर नेपालीले जानकारी दिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी खटिएको स्थानीय भुवन राईले बताएका छन् । जिल्लाबाट खटिएका प्रहरीले राई दम्पतीको खोजी कार्य गरिरहेको र खार्मीका प्रहरी र स्थानीयबासी श्यामकुमारकै घरमा जम्मा रहेको राईले बताए ।
घटनापछि बीचबाटोसम्म आफ्नो भाइलाई बोलाएर यात्रु सहितको सुमो दिक्तेल पठाएको चालक सबिन तामाङले सुनाए ।











प्रतिक्रिया