रिमै : मौलिकता र आदिवासी समुदायको जीवनशैली

470
Shares

कास्की।

नेपाली मौलिकतामा आधारित फिल्म धेरै बनेका छन्। आदिवासी समुदायको जीवनशैलीमा आधारित फिल्मले बजारमा आफ्नो पहिचान बनाउँदै आएको पनि छ। यस्तैमा आगामी शुक्रबारबाट गुरुङ समुदायमा आधारित फिल्म रिमै रिलिजमा आउँदै छ।

नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको फिल्म उपेन्द्र सुब्बाको कथा र खिलबहादुर गुरुङको निर्देशनमा बनेको छ। यो फिल्मप्रति निर्माण पक्ष मात्र नभई कलाकारहरू पनि आशावादी छन्। दर्शकले मौलिक संस्कृतिको स्वाद लिन पाउने भएकाले रिमै नेपाली फिल्ममा फरक अध्याय हुने अपेक्षा गरिएको छ।

दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य अभिनय रहेको फिल्मले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई पर्दामा उतार्ने प्रयास गरेको छ।

फिल्मको प्रदर्शनपूर्व चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण पक्षले रिमैसम्बन्धी जानकारी गराएको छ। कार्यक्रममा कलाकार रिश्मा गुरुङ, माओत्से गुरुङ, डिबी गुरुङ, कार्यकारी निर्माता वीरबल घले सहभागी थिए।

पत्रकार सम्मेलनमा बोल्दै कलाकार माओत्से गुरुङले रिमै आदिवासी कथाको प्रतिनिधित्व गर्ने फिल्म भएको उल्लेख गरे। मेकरहरूको बदलिँदो सोच र दर्शकले मौलिक कथामा देखाएको रुचिले गर्दा यस्तो विषयवस्तु उठाउन सम्भव भएको उनको भनाइ थियो। रिमै भन्ने शब्द गुरुङ भाषामा छोरीचेलीलाई सम्बोधन गर्ने अर्थमा प्रयोग गरिएको छ। उनले फिल्ममा आफूलाई एक कठोर बुबाको भूमिकामा उभ्याएका छन्। फिल्मकी मुख्य पात्र नायिका रिश्मा गुरुङले रिमै आफ्ना लागि विशेष रहेको बताइन्। ‘रिमै मेरो लागि विशेष फिल्म हो। पहिलो अफर आउँदा नगर्ने सोच थियो, अमेरिकामा भएकाले सम्भव भएन। अहिले भने परिस्थिति मिलेकाले पहिलोपटक ठूलो पर्दामा गुरुङ संस्कारलाई उतार्न पाएको छु। अपेक्षा भएर नै यो सिनेमा गरेकी हुँ उनले भनिन्। कबड्डीपछि लामो समय सिनेमामा नदेखिए तापनि आफू उक्त क्षेत्रबाट बाहिर भने नभएको उनले बताइन्। कार्यव्यस्तता र अध्ययनका कारण विश्राम लिएको र अब राम्रो स्क्रिप्ट र टीम भएमा निरन्तरता दिँदै जाने पनि उनले प्रष्ट्याइन्।

कलाकार डिबी गुरुङले फिल्मले गुरुङ समाजको मात्र नभई सम्पूर्ण नेपाली जीवनशैलीलाई प्रतिबिम्बित गर्ने बताए। कार्यकारी निर्माता वीरबल घलेले रिमै मौलिक कथा, मौलिक संस्कृति र मौलिक अभिनयको संगम भएको उल्लेख गरे। करिब ३ करोड लगानीमा निर्माण भएको फिल्मले नेपाली फिल्म क्षेत्रमा फरक स्वाद थप्ने विश्वास गरिएको छ।

फिल्मको छायांकन मुख्यतया गुरुङ बस्ती र पहाडी गाउँघरमा गरिएको छ। ग्रामीण जीवनशैली, संस्कार र संस्कृतिलाई नजिकबाट चित्रण गर्ने प्रयास यसमा गरिएको छ। फिल्ममा सांगीतिक पक्षलाई पनि विशेष महत्व दिइएको र गुरुङ समुदायको मौलिक धुन र ताललाई समेटिएको फिल्म निर्माण पक्षको छ।