मेयर बालेन र उपमेयर सुनिताको खटपट : अनुगमन प्रमुख उपमेयरको सक्रियता कम

मेयरले विज्ञ तोकेकोमा उपमेयर डंगोलको आपत्ति

6.58k
Shares

काठमाडौं।

चाडबाडको मुखमा अनुगमनलाई तीव्रता दिनुपर्ने काठमाडौं महानगर अहिले निष्क्रिय छ । महानगर प्रमुख साहको निर्देशनमा महानगर प्रहरी बलले आकस्मिक अनुगमन जारी रहे तापनि उपमेयर सुनिता डंगोलको निष्क्रियता र मेयर बालेन्द्र साहसँगको खटपटका कारण अनुमगन फितलो भएको छ ।

उच्चस्रोतका अनुसार कामपाका खाद्य स्वच्छता विज्ञलाई मेयर साहले नियुक्ति गरेको र मेयरकै निर्देशनमा अनुगमन गर्ने गरेको आरोप उपमेयरको छ । कामपाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक जीवनप्रभा लामा र सन्तोष गिरीलाई नियुक्ति गरेको थियो । लामा विज्ञको रूपमा कार्यरत हुनुहुन्छ भने गिरीले रूपन्देही–३ बाट निर्वाचनमा लड्न विज्ञ पद छाड्नुभएको छ ।

खाद्य स्वच्छता विज्ञ जसले नियुक्ति गरे पनि कामपाको नियमित काम अनुगमन गर्ने नै हो । तर, गौरवको र अन्य गरी १० करोडभन्दा बढीको अनुगमन गर्ने अधिकारप्राप्त अनुगमन संयोजक एवं उपमेयर डंगोलको अहंको कारण अनुगमन ठप्प प्रायः छ ।

पछिल्लो पटक कामपा–१५ स्वयम्भुको बनेको एक गुम्बाको अनुगमन गर्न पुगेका उपमेयर डंगोलले उक्त भवनको भ¥याङ मापदण्डअनुसार नभएको भन्दै रोक्ने आदेश दिनुभयो । स्रोतका अनुसार त्यसपछि अहिलेसम्म उक्त भवनको अवस्था के छ भनेर हेर्न पुग्नुभएको छैन । अनुगमनको विषयमा जानकारी लिन नेपाल समाचारपत्रले उपमेयर डंगोलसँग सम्पर्क गर्दा मोबाइल उठाउनुभएन । लामो समयदेखि मेयर साहसँग खटपट रहेको उपमेयर डंगोलले मेयर साहले गरेको अधिकांश कामको विरोध गर्ने गर्नुभएको छ । सचिवालयका कर्मचारीले गलत सूचना दिने गरेको र त्यसलाई मान्यता दिएका कारण उपमेयर डंगोल विवादमा तानिने गर्नुभएको छ । ‘उपमेयर साबलाई भेट्न गयो, सचिवालयका कर्मचारी सौरभ गौतमलाई सबै बेलिबिस्तार गर्नुपर्ने ? हामी त नबोलाई कुनै कुराको जानकारी दिन भेट्न जानै छाडेका छौं’– स्रोतले भन्यो ।

यतिबेला खाद्यान्नलगायत सबै उपभोग्य सामानको अनुगमन गर्नुपर्ने अवस्थामा कामपामा अनुगमन रोकिएजस्तै भएको छ । तीजको अघिल्लो दिन खाद्य स्वस्थता मापन गर्ने मोबाइल भ्यानसहितको टोली न्युरोड र वसन्तपुर क्षेत्र अनुगमनमा पुगको थियो । उपमेयरकै निर्देशनमा टोली अनुगमनमा पुगेको थियो, तर उक्त अनुगमनमा संयोजक डंगोल उपस्थित हुनुभएन । टोलीले १५ भन्दा बढी मिठाइ पसल अनुगमन गरेको थियो । टोलीसँग अनुगमनका लागि आवश्यक सबै सामग्री र पर्याप्त जनशक्ति भए पनि संयोजकले चासो नदेखाउँदा समस्यमा भएको टोलीकै एक सदस्यले बताए । करिब ५० लाख जनसंख्या बसोबास गर्ने कामपामा दैनिक अनुगमन हुनुपर्नेमा उपमेयरकै कारण अनुगमन रोकिएको छ । उपमेयरले अनुगमनमा चासो देखाउन छाडेपछि मेयर साहको निर्देशनमा महानगर प्रहरीले अनुगमन जारी राखेको छ ।

कामपा प्रहरीबल राजुनाथ पाण्डेले आफूलाई आदेश आउनासाथ अनुगमन गर्ने गरेका जानकारी दिँदै भन्नुभयो– ‘करिब सातादिनअघि न्युरोड र वसन्तपुर क्षेत्रमा मापदण्डविपरीत ढुंगा छापेको थियो । स्थानीयले त्यसको विरोध गरी तत्काल मापदण्ड अनुसार निर्माण गर्न माग गर्दै काम रोक्न आदेश दिनुभएको थियो । त्यसको भोलिपल्ट अभियन्ता गणपतिलाल श्रेष्ठलगायतले अनुमगन प्रमुख डंगोललाई वसन्तपुरक्षेत्रमा अनुगमन गर्न बोलाएका थिए । अनुगमन गर्ने क्रममा उहाँले तत्काल मापदण्डअनुसार गर्न आग्रह गर्नुभएको थियो ।’

त्यसपछि कस्तो काम गरिरहेको छ, उपमेयरलाई अत्तोपत्तो छैन । सडकमा छाप्ने ढुंगाको गुणस्तर कस्तो हुनुपर्छ भन्ने समेत उहाँले जानकारी लिनुभएको छैन । ढुंगाको लम्बाइ, चौडाइ, फुस्रे, निलो हो कि कालो, कस्तो रङको ढुंगा बिच्छ्याएको छ भन्ने समेत उहाँलाई जानकारी छैन । न त अनुगमन न निर्देशन मेयर साह र उपमेर डंगोलका कारण कामपाको कामपाको अनुगमन प्रायः शून्य छ ।