ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान)को २८औं साधारणसभा सम्पन्न


काठमाडौं। 

रक्तदानलाई नियमित जीवनशैलीमा बदल्दै सुरक्षित रगत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासहित ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) को २८औं वार्षिक साधारणसभा काठमाडौंको खुसिबु“स्थित नेपाः ब्याङ्क्वेटमा शनिबार सम्पन्न भएको छ ।

प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शुभकामना मन्तब्य राख्दै रक्तदान समाजसेवाको सर्वोच्च कार्य भएको बताउँदै ब्लोदानले अहिलेसम्म गरेको रक्तदान अभियानको प्रशंसा गर्दै ब्लोदान र यसमा आबद्ध संस्थाहरुलाई अझै सक्रियताका साथ अघि बढ्न अनुरोध गरिन् ।

ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन सत्रमा ब्लोदानका निवर्तमान अध्यक्ष ई. साबु बाबु प्रजापति, नेरेसो भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे, कान्तिपुर रक्तसंचार सेवाका इन्चार्ज टिकाराम मण्डल, नेरेसो केन्द्रीय रक्तसंचार सेवाका उप निर्देशक डा. प्रकाश यादव, कास्कुनका महासचिव निरञ्जन सेढाई अतिथिको रुपमा थिए । कार्यक्रममा रक्तसंचार सेवा तथा रक्तदानको क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघसंस्था, स्वास्थ्य क्षेत्रका प्रतिनिधि तथा स्वयंसेवी रक्तदाताहरूको उपस्थिति रहेको थियो ।

साधारणसभामा रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने, संगठन सुदृढीकरण गर्ने, विधान संशोधनमार्फत् संस्थालाई समय सापेक्ष बनाउनुपर्ने र आगामी वर्षमा देशभर रक्तदान प्रवर्द्धनका लागि ठोस योजना अघि बढाउने विषयमा विस्तृत छलफल भएको थियो । यस अवसरमा त्यस्तै ब्लोदानका केन्द्रीय सदस्य किशोर राज वन्तलाई ब्लोदान अफ दि इयरबाट सम्मानित गरिएको थियो भने ब्लोदानका सल्लाहकार मिलन श्रेष्ठ तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका जनसम्पर्क अधिकृत सन्देश थापालाई पनि सम्मान गरिएको थियो । साथै रक्तदानको क्षेत्रमा सहयोग पु¥याएकोमा स्वयंसेवी मनिष तण्डुकारलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । साथै ब्लड फण्डमा सहयोग गर्ने ब्लोदानका केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठलाई मायाको चिनो तथा जनककुमार खड्का तथा सोहन रंजितलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । साथै अध्यक्ष राजेश श्रेष्ठले प्रमुख अतिथि डंगोललाई मायाको चिनो प्रदान गरेका थिए ।

 कार्यक्रममा निर्वतमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार ई. सानुबाबु प्रजापतिले ब्लोदानको इतिहास, उपलब्धिहरू र कोभिड महामारीका चुनौतीपूर्ण दिनमा ब्लोदानले खेलेको भूमिकाबारे प्रकाश पार्दै संकटका घडीमा रक्तदाता र स्वयंसेवकहरूको अमूल्य योगदानको चर्चा गरे ।

त्यसैगरी ब्लोदानका वर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापति राजेश श्रेष्ठले सुरक्षित रगत जीवनरक्षक भएको उल्लेख गर्दै संस्थापक अग्रजहरुको योगदानलाई स्मरण गरे । उनले  ब्लोदानले ‘रक्तदान जीवनदान’ नारा सहित २०४४ सालमा सुरुआत गरेको अभियान आज हजारौं स्वयंसेवी रक्तदाताको सक्रिय सहभागिता सहित राष्ट्रियस्तरमै सबल अभियान बनेको उल्लेख गर्दै अभियानलाई अझै व्यापक बनाउन पर्नेमा जोड दिए । आगामी दिनमा सुरक्षित रगतको सुनिश्चितता, आपतकालीन सहकार्य र अन्तर्राष्ट्रिय संस्थाहरूसंगको  सहकार्यलाई अझ मजबुत बनाउन प्रतिबद्ध रहेको बताए ।

साधारणसभाको बन्दसत्रमा महासचिव मचाकाजी महर्जनद्वारा प्रस्तुत ब्लोदानको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रगति प्रतिवेदन तथा चालु वर्षको कार्ययोजना तथा कोषाध्यक्ष पुरुषोत्तम खत्रीले प्रस्तुत गरेको  वित्तीय प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन साथै विधान संशोधन समिति संयोजक तथा उपाध्यक्ष केशव महर्जनले प्रस्तुत गरेको  विधान संशोधनको प्रस्ताव वृहत् छलफलसहित सर्वसम्मत पारित गरिएको थियो ।