काठमाडौं ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले शैक्षिक संस्थामा बम राखिएको भन्ने झुट्टा अफवाह फैलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ।
२०७९ भदौ १३ गते दिउँसो करिब ४ बजे प्रहरी कन्ट्रोल रुमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंस्थित विभिन्न शैक्षिक संस्थामा विस्फोटक पदार्थ राखिएको र सोही दिन १६:०० बजेसम्म पड्कने दाबी गर्दै अफवाह फैलाइएको थियो। यसरी अफवाह फैलिएपछि सार्वजनिक शान्ति खलल पर्ने अवस्था सिर्जना भएको भन्दै प्रहरीले अनुसन्धान अघि सारेको थियो।
अनुसन्धानका क्रममा सो घटनामा संलग्न रहेको ठहर भएका ३८ वर्षीय जयरुद्र झा, जिल्ला महोत्तरी, महोत्तरी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं किर्तिपुर नगरपालिका–१० बस्दै आएका, पक्राउ परेका छन्। उनलाई भदौ १३ गते नै नयाँबजार, किर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको प्रहरीको भनाइ छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया