याङजिङमा जिनपिङ–मोदी ५० मिनेट लामो भेटवार्ता, चीन–भारतबीच  सहकार्यमा जोड

3.29k
Shares

काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार चीनको याङजिङमा करिब ५० मिनेट लामो द्विपक्षीय वार्ता भएको छ। दुवै नेताले विगतका तिक्तता पन्छाउँदै सहकार्य र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रपति जिनपिङले वार्ताको सुरुवातमै चीन र भारतबीच सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै भने, …संसार बलियो हुँदै गएको छ। चीन र भारत दुई प्राचीन सभ्यता र विश्वकै सबैभन्दा बढी जनसंख्या भएका राष्ट्र हुन्। हामी ग्लोबल साउथका महत्वपूर्ण सदस्य हौं। यसैले ‘ड्रयागन’ र ‘हात्ती’ सँगै अघि बढ्नु अत्यन्तै जरुरी छ।

उनले दुवै देशका जनताको हितका लागि सुधार ल्याउने, मानव समाजको प्रगतिलाई अघि बढाउने र विश्व शान्ति तथा स्थिरतामा योगदान गर्ने जिम्मेवारी साझा रहेको पनि बताए।

वार्तामा प्रधानमन्त्री मोदीले चीनसँगको सम्बन्ध क्रमशः सुधारोन्मुख भएको दाबी गरे। उनले भने, …गत वर्ष कजाकिस्तानमा भएको हाम्रो उपयोगी छलफलले सम्बन्धलाई सकारात्मक दिशातर्फ डोर्याएको छ। अहिले सीमाबाट सैनिक फिर्ता भएपछि शान्ति र स्थिरताको वातावरण बनेको छ।

मोदीले भारत–चीनबीचको सहकार्यले करिब २ लगभग  ८ अर्ब मानिस लाभान्वित हुने र यसले सम्पूर्ण मानवताको हितमा योगदान पुर्‍याउने बताए।

त्यसैगरी उनले सीमा व्यवस्थापनबारे विशेष प्रतिनिधिबीच सम्झौता भएको, कैलाश–मानसरोवर यात्रा पुनः सुरु भएको,दुवै देशबीचको सिधा हवाई उडान पुनः सञ्चालनमा आएको–जस्ता ठोस उपलब्धि औँल्याए।

मोदीले शाङ्घाई सहयोग संगठनमा चीनको सफल अध्यक्षताका लागि राष्ट्रपति सीलाई बधाई दिँदै भ्रमण र भेटवार्ताका लागि धन्यवाद पनि दिए।

गलवान झडपपछि सम्बन्ध सुधारतर्फ

सन् २०२० मा लद्दाखको गलवान pkTosfमा भएको भीषण झडपपछि चीन–भारत सम्बन्ध तीव्र रूपमा बिग्रिएको थियो। दुवै देशबीचको सीमा विवादले सैनिक तैनाथी बढाएको थियो भने राजनीतिक संवाद पनि न्यून भएको थियो।

तर पछिल्लो समय दुवै देशबीच वार्ता र सैनिक फिर्ती प्रक्रियाले सम्बन्धलाई क्रमशः सहज बनाइरहेको छ। याङजिङको भेटवार्तालाई त्यसैको निरन्तरता र उच्चस्तरीय विश्वास बहालीको संकेतका रूपमा हेरिएको छ।

चीनको तियानजिनमा सुरु हुन लागेको शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा यसपटक २० भन्दा बढी देशका नेताहरू सहभागी हुँदैछन्।

राष्ट्रपति जिनपिङ, प्रधानमन्त्री मोदीसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, मध्य एशिया, मध्यपूर्व, दक्षिण एशिया र दक्षिणपूर्व एशियाका शीर्ष नेताहरू पनि उपस्थित हुनेछन्।

यो शिखर सम्मेलनलाई चीनमा आयोजित इतिहासकै ठूलो  बैठक मानिएको छ।

नेपालका लागि सन्देश र प्रभाव

चीन र भारतबीच सम्बन्ध सुधारिएको सन्देश नेपालका लागि पनि बहुआयामिक छ।  भारत–चीनबीच विश्वास बढ्दै गए नेपालले उठाउँदै आएको लिपुलेक–कालापानी विवादलाई दुवै छिमेकीले द्विपक्षीय मामिलाको रूपमा टार्ने सम्भावना बलियो हुन्छ। यसले नेपाललाई आफ्नो पक्ष मजबुत बनाउन अझै कठिन बनाउन सक्छ।

चीन, भारत–बङ्गलादेश, नेपाल सहकार्य जस्ता परियोजनामा यदि चीन–भारत सहकार्यतर्फ उन्मुख भए, नेपाललाई दुवै मुलुकसँगको विकास साझेदारीबाट फाइदा लिन सक्ने अवसर मिल्न सक्छ।

नेपाल परराष्ट्र नीतिमा असंलग्नताको सिद्धान्त पालना गर्दै आएको छ। तर चीन र भारतबीचको नयाँ समीकरणले नेपाललाई दुवै मुलुकसँग सन्तुलन साध्न अझै संवेदनशील बनाउँछ। 

भारत–चीन सम्बन्ध सुधारसँगै अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिमा भारत अझै सक्रिय रहिरहने सम्भावना छ। यस्तो अवस्थामा नेपालले कुनै पनि पक्षतर्फ ढल्किन नदिएर सन्तुलित कूटनीतिमा टिकिरहनुपर्ने आवश्यकता बढ्छ।

याङजिङको भेटवार्ताले चीन–भारत सम्बन्ध पुनः सकारात्मक दिशातर्फ मोडिएको संकेत दिएको छ। दुवै मुलुकले आपसी विश्वास, सम्मान र सहयोगको आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तर नेपालका लागि यसको सन्देश मिश्रित छ। एकातिर क्षेत्रीय स्थिरता र सहकार्यबाट लाभ लिने अवसर छ भने अर्कोतिर सीमा विवाद, असंलग्नता नीति र शक्ति प्रतिस्पर्धाको दबाब अझै चुनौतीपूर्ण रहनेछ।

नेपालले चीन–भारत सम्बन्धको सुधारलाई सावधानीपूर्वक अवसरमा रूपान्तरण गर्न सक्ने कि जोखिममा फस्ने भन्ने कुरा अबको कूटनीतिक नेतृत्व र रणनीतिक निर्णयमा निर्भर गर्नेछ।