रसुवागढीमा पहिराे : एक घाइते, गाडी र हेल्पडेस्कमा क्षति

7.33k
Shares


रसुवा ।

आईतबार बिहान करिब ८:४५ बजे रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढी क्षेत्रमा माथिबाट खसेको ढुङ्गासहितको सुख्खा पहिराले ठूलो क्षति पुर्‍याएको छ।

करिब ३ सय मिटर माथिबाट खसेको उक्त पहिराले पर्सा जिल्ला विश्रामपुर–४ का १९ वर्षीय विनय दास थारूलाई घाइते बनाएको छ। घाइते थारूलाई प्रारम्भिक उपचारपछि रसुवा अस्पताल ल्याइएको र त्यहाँबाट थप उपचारका लागि काठमाडौं लगिएको छ।

स्थानीय व्यवसायी पदम रुम्बाका अनुसार पहिराले दुई कन्टेनर, एक ट्र्याक्टर, एक स्काभेटरसहित चार सवारीसाधनमा क्षति पु¥याएको छ। त्यस्तै, सुरक्षाकर्मी बस्ने घर र हेल्पडेस्क पनि प्रभावित भएका छन्।

टिमुरे स्वास्थ्य चौकी इन्चार्ज युगेन लोेप्चनका अनुसार हेल्पडेस्क र सुरक्षाकर्मी बस्ने घरमा समेत भौतिक क्षति पुगेको छ। घाइते थारू रोजगारीका लागि टिमुरे आएका थिए र काममा जाँदै गर्दा पहिराले च्यापेको थियो । उनको काँध, नाक र कानमा चोट लागेको बताइएको छ।

हाल उक्त क्षेत्र पहिराका कारण प्रभावित बनेको छ।