काठमाडौं।
सरकारी जग्गा अनियमितता गर्न पल्केका एक नापी अधिकृतको सम्पत्ति झण्डै १५ करोड रहेको पाइएपछि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेका छन् । शक्तिकेन्द्र र उच्च पदस्थलाई रिझाएर १० औं वर्षसम्म नापी कार्यालय भैरहवामा निमित्त कार्यालय प्रमुख भई सरकारी जग्गाको चरम दुरुपयोग गर्दै आइरहेका नापी कार्यालय भैरहवा रूपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादव विरूद्ध अख्तियारले झण्डै ६ करोड अवैध सम्पति आर्जन गरेको ठहर सहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनी विरुद्ध अख्तियारले ५ करोड ७९ लाख ६२ हजार ४ सय ४० रुपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
राजनीतिक व्यक्ति र माथिल्लो विभागीय प्रमुखलाई प्रभावमा पारेर नापी अधिकृत प्रमुख रहने दरबन्दी रिक्त बनाई वर्षौंसम्म निमित्त कार्यालय प्रमुखका रूपमा रही यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आयोगको ठहर छ । आयोगले यादव सार्वजनिक पदमा प्रवेश गरेको २०५३ असार १३ गतेदेखि २०८१ असार १६ गतेसम्मको अवधिको परीक्षण गरेको थियो ।
सो अवधिमा यादवले विभिन्न आयमार्फत ९ करोड तीन लाख ९५ हजार ४ सय ४४ वैध सम्पत्ति आर्जन गरेको देखिएको छ । सो अवधिमा यादवले रु १४ करोड ८३ लाख ५७ हजार ८ सय ८४ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । वैध आय र खर्चबीचको तालमेल हेर्दा पाँच करोड ७९ लाख ६२ हजार ४ सय ४० बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।
वैदेशिक अध्ययनमा गएका कर्मचारीको पद, दरबन्दी कायम गरी दशौं वर्ष निमित्त कार्यालय प्रमुख पदमा रही सरकारी जग्गा प्लट मिलान गर्ने नाममा सार्वजनिक जग्गाहरू व्यक्तिको नामा पारी अनियमितता गरेको आयोगले जनाएको छ ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति यादवले श्रीमती गायत्री यादव, छोराहरू सुधान्सु यादव र शुभम यादवका नाममा राखेको पाइएको आयोगले दाबी गरेको छ । आयोगले उनीहरूविरुद्ध पनि प्रतिवादी कायम गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।
आयोगका अनुसार नापी अधिकृत सुग्रीवले १०औं वर्ष निमित्त कार्यालय प्रमुख भएर सरकारी सार्वजनिक जग्गाहरू हाल साविक, प्लट मिलान गर्ने नाममा सार्वजनिक जग्गाहरू व्यक्तिको नाममा पारी करोडौंको आर्थिक चलखेल गर्ने गरेको पाइएको छ । अधिकृत यादवले अवैध रूपमा सम्पत्ति कमाएर विभिन्न ठाउँमा जग्गा तथा घरहरू खरिद गरेको, सेयर खरिद गरेको, सवारी साधन खरिद गरेको तथा विभिन्न व्यवसाय र कम्पनीहरू खोलेका थिए ।











प्रतिक्रिया