अमेरिकाले नेपाली सेनालाई दुई विमान दिंदैं

भूराजनीतिक समीकरणमा नयाँ सन्देश

20.4k
Shares

काठमाडौं ।

अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एउटा एयर एम्बुलेन्स विमान यही भदौ महिनाको अन्त्यतिर हस्तान्तरण गर्ने तयारी गरेको छ । लामो समयदेखि नेपाली सेनालाई सहयोग गर्दै आएको अमेरिकी सरकारले यसपटकको विमान सहयोगलाई केवल प्राविधिक समर्थन मात्र नभई क्षेत्रीय राजनीतिसँग गाँसिएको एउटा रणनीतिक सन्देशका रूपमा पनि हेरिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारलाई औपचारिक रूपमा जानकारी दिंदै दुवै विमान नेपाली सेनालाई उपलब्ध गराउने तयारी गरेको जनाएको छ । सन् २००२ देखि अमेरिकाले नेपाली सेनालाई विभिन्न प्रकारका हेलिकोप्टर, साना तथा मध्यम आकारका विमान उपलब्ध गराउँदै आएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले अमेरिकाले दिने दुई विमान यही महिनाभित्र नै नेपाल भित्रिने जानकारी दिनुभयो ।

‘स्काई ट्रकलाई विपद् व्यवस्थापनमा प्रयोग गरिनेछ भने एयर एम्बुलेन्सलाई बिकट पहाडी क्षेत्रमा बिरामी उद्धार तथा आकस्मिक स्वास्थ्य सेवाका लागि सञ्चालन गरिनेछ,’ बस्नेतले भन्नुभयो ।

यो सहयोगले सेनाको ‘विपद् व्यवस्थापन क्षमतामा वृद्धि’ मात्र नभई दूरदराजका नागरिकलाई राहत पु¥याउने विश्वास गरिएको छ ।
नेपाल अहिले भारत र चीनबीचको सम्बन्धमा चिसोपन देखिएको संवेदनशील अवस्थामा छ । यस्तै बेलामा अमेरिकाले दुई विमान हस्तान्तरण गर्न लागेको सन्देशलाई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर व्याख्या गरिएको छ ।
राजनीतिक विश्लेषकहरूले यसलाई अमेरिकी ‘सफ्ट पावर’को उदाहरण मानेका छन् ।

अमेरिकाले नेपालसँग प्रत्यक्ष सैन्य गठबन्धन नगरी मानवीय सहायता, विपद् व्यवस्थापन र स्वास्थ्य सुरक्षाका नाममा आफ्नो प्रभाव विस्तार गर्न खोजेको देखिन्छ ।

अन्तर्राष्ट्रिय राजनीतिविज्ञ डा. सुशील मानन्धरका अनुसार,‘अमेरिकाले अहिले विमान हस्तान्तरण गर्ने निर्णय केवल मानवीय सहयोग मात्र होइन । यो चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ र भारतसँगको पारम्परिक सुरक्षा सम्बन्धबीच अमेरिका पनि नेपालमा ‘सक्रिय भागीदार’ बन्ने सन्देश हो ।

उहांले थप्नुभयो– नेपालको भौगोलिक संवेदनशीलता अमेरिकाको रणनीतिक प्राथमिकतामा पर्छ । अहिले विमान हस्तान्तरण सानो देखिए पनि यसको दीर्घकालीन प्रभाव शक्ति सन्तुलन र सुरक्षा सहकार्यमा देखिनेछ ।
नेपालमा अमेरिकाको सहयोगलाई कतिपयले सकारात्मक रूपले लिएका छन् । विपद् व्यवस्थापन, स्वास्थ्य उद्धार र सैनिक क्षमतामा वृद्धि त निश्चित हुने नै छ । तर अर्कोतर्फ केही विज्ञहरूले यसलाई सावधानीपूर्वक मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

पूर्व सुरक्षा अधिकारी विरेन्द्र थापा भन्नुहुन्छ–अमेरिकी सहयोग स्वागतयोग्य छ । तर नेपालले आफ्नो भौगोलिक स्थिति र संवेदनशीलता बुझ्नुपर्छ । कुनै पनि शक्तिको प्रभावमा गइयो भने नेपाल–भारत–चीन त्रिकोणमा असन्तुलन पैदा हुने सम्भावना रहन्छ । त्यसैले नेपालले सहयोग लिंदा आफ्नो स्वाधीनता र भौगोलिक अखण्डतालाई अक्षुण राख्ने स्पष्ट नीति आवश्यक छ ।

अमेरिकाले नेपाली सेनालाई दुई विमान दिने तयारी प्राविधिक सहयोग भन्दा धेरै राजनीतिक सन्देश बोकेको छ । एउटा तर्फ सेनाको उद्धार तथा विपद् व्यवस्थापन क्षमतामा वृद्धि हुनेछ भने अर्को तर्फ यसले नेपाललाई भारत–चीनबीचको शक्ति सन्तुलनमा ‘तटस्थ तर उपयोगी’ भूमिका खेल्ने अवसर पनि दिनेछ ।
तर, दीर्घकालमा नेपालले यस्ता सहयोगलाई सन्तुलनमा राख्दै आफ्नो स्वतन्त्र परराष्ट्र नीतिलाई सुरक्षित गर्न सके मात्र यो सहयोगले मुलुकलाई फाइदा पु¥याउने देखिन्छ ।