मर्मत गरेको तीन महिनामै चन्द्रनिगाहपुर जयनगर सडक खण्डमा खाल्डाखुल्टि

7.71k
Shares

रौतहट ।

मर्मत गरेको तीन महिना नबित्दै चन्द्रनिगाहपुर जयनगर रामजार्ग जस्ताको त्यस्तै भएको छ । गएको आर्थीक बर्षको अन्त्यमा चन्द्रनिगाहपुर जयनगर सडक खण्डको बिभिन्न स्थानका खाल्डाखुल्डी मर्मतको नाममा कालोपत्रे गरिएको भएपनि यतिखेर उप्किएर जस्ताको त्यस्तै भएको छ । खाल्डाखुल्डि मर्मतको जिम्मा लिएको शिबशक्ति निर्माण सेबाले गुणस्तरहिन कार्य गरेको कारण तीन महिना नबित्दै उप्केर पुन राजमार्गमा खाल्डा खुल्डी बनेको छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर बाट २० लाख रुपैयामा निर्माणको जिम्मा लिएको शिबशक्ति निर्माण सेबाले गुणस्तरहिन कार्य गरेका कारण मर्मत गरेका स्थानका खाल्डाखुल्डी उप्किएको हो । मर्मतको नाममा राजमार्गका खाल्डाखुल्डी पुरेजस्तो गरेका कारण यतिखेर उप्किएर जस्ताको त्यस्तै बनेको स्थानीय बासिन्दा बताउछन । निर्माण कम्पनीले मर्मतको नाममा खाल्डा–खुल्डी भएको ठाउँमा सेमि राउटिङ्ग गर्दा अलकत्राको प्रयोग न्यून गरेको थियो ।

मर्मतकै समयमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सबईन्जिनियर शुरेस महतोले डिपिएसटी बाटो रहेको र मर्मत कार्यमा ०।६ वर्ग मिटरमा अलकत्रा छरेको दाबी गर्नु भएको थियो । उहाले टिकाउ र भरपर्दो हुने बताएपनि तीन महिना नबित्दै पुन भत्किएको छ । आउदो आर्थिक वर्षमा सो राजमार्ग चार लेनको निर्माण हुन लागेको छ ।

बजेट फ्रिज हुन नदिन सडक डिभिजन कार्यालयले खाल्डाखुल्डि टालटाल टुलटुल गरेजस्तो गरेर राज्यको लगानी खेर फालेको छ । मर्मत गर्दा उक्त सडकको खाल्डाखुल्डीमा मापदण्ड अनुसार कार्य नभएको, केही ठाउँमा अलकत्रा छर्केको जस्तो गरेर पीच गरिएको थियो । चन्द्रनिगाहपुर जयनगर सडक खण्डको झाझ पुलमा मर्मत गरेको राजमार्ग पुन खाल्डाखुल्डी भएको बिषयमा भने सडक डिभिजन कार्यालयका प्रमुख अनिल लाल कर्णले पानीको निकास नभएकाले पुन भत्केको बताउनु भयो । राजमार्गमा भएको खाल्डाखुल्डीले सबारी साधनको संचालनमा अपठयारो हुन थालेको छ ।