हेटौंडा ।
नेपाल समाचारपत्रले मंगलवार पहिलो पेजमा स्थान दिएर प्रकाशन भएको समाचार ‘अर्कालाई घर उपहार, आफ्ना बेघर’ भन्ने शीर्षकप्रति वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले एक विपन्न परिवारको घर आफ्नो व्यक्तिगत खर्चमा बनाएर दशैंअघि नै हस्तान्तरण गर्ने बताउनुएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–१, इन्द्रुङका सुमनसिं प्रजाको परिवारलाई बस्ने बास र खानेकुरा अभाव रहेको भन्दै नेपाल समाचारपत्रका समाचार आएको थियो । उहाँको झुप्रोको फोटोसहित प्रकाशनपछि प्रदेशका मुख्यमन्त्री बानियाँले बुधबार नै पहल थाल्नुभएको छ । जसका कारण सुमनसिंले अब नयाँ घर पाउने हुनुभएको छ ।
साउन २० गते मुख्यमन्त्री नियुक्त हुनुभएका सोही क्षेत्रका प्रदेशसभा सदस्य बानियाँले आफ्नो तलबभत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अतिविपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गर्नुभएको थियो । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र नेपाली कांग्रेस राक्सिराङ सभापति वीरेन्द्र जिम्बालगायतको सिफारिसमा सुमनसिंको घर बनाउन मुख्यमन्त्री बानियाँले व्यक्तिगत खर्च गर्ने हुनुभएको छ ।
बुधबार सिफारिससहित मुख्यमन्त्री कार्यालय पुगेका गाउँपालिका अध्यक्ष मल्ल, पार्टी सभापति जिम्बालगायतलाई मुख्यमन्त्री बानियाँले दशैंअघि घर तयार गर्ने गरी काम शुरू गर्न आग्रह गर्नुभएको छ ।
२ वटा कोठा, एउटा भान्छासहित शौचालय र बाथरुम निर्माण यथाशीघ्र गरिने र दशैंअघि नै हस्तान्तरण गरिने पालिका अध्यक्ष मल्लले बताउनुभयो । उक्त घर बनाउन खर्च हुने रकम मुख्यमन्त्री बानियाँले बेहोर्ने हुनुभएको छ ।भदौ ३ गते प्रजा घरमा पत्नी सुत्केरी रहेको र खानेकुरा केही पनि नभएको भन्दै गाउँपालिका कार्यालय पुग्नुभएको थियो ।
सुत्केरीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि गाउँपालिकाले तत्काल राहतका लागि दाल, चामल, तेल, नुन, कम्बल र त्रिपाललगायत सामग्री हस्तान्तरण गरेको थियो ।मुख्यमन्त्री बानियाँले केही दिनअघि मनहरी गाउँपालिका–९ कि विपन्न दलित एकल मिठुमाया सुनारको पनि घर निर्माणका लागि सहयोग गर्नुभएको थियो । उहाँको घर बनाउन बानियाँले पहिलो किस्ताबापत २ लाख हस्तान्तरण गर्नुभएको छ ।











प्रतिक्रिया