काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा उहाँहरूबीच भेटवार्ता हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमणको तालिका सार्वजनिक गरेको छ । जसअनुसार प्रधानमन्त्री ओली १४ भदौमा चिन प्रस्थान गर्नुहुनेछ र त्यस क्रममा प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले भदौ १६ गते तियानजिनमा हुने एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चिनिया राष्ट्रपति सिसँगको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेकका सम्बन्धमा भारत र चीनसँग भएको सहमतिका विषयमा पनि कुरा उठाउने स्रोतले बताएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले लिपुलेकको भू–भाग नेपालको भएको विषयमा राष्ट्रपति चिनफिङसँग छलफल गर्नुहुनेछ ।
एससीओ शिखर सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विश्वका अन्य नेताहरूसँग साइडलाइन वार्तासमेत गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
त्यसपछि प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुुहुनेछ । त्यहाँ प्रधानमन्त्री ओलीले भदौ १७ गते चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जापानविरुद्धको युद्धमा विजयी भएको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का र छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र उच्चपदस्थ सरकारी अधिकारीहरू रहने छन् ।











प्रतिक्रिया