वन कर्मचारीकै मिलेमतोमा १० करोडको भेप तस्करी

अनुमति दिनेहरू राजस्व अनुसन्धानको छानबिन घेरामा


–भेप र सुन तस्करको जालो एउटै
–छानबिनको सुई केही उच्चपदस्थतर्फ

काठमाडौं ।

हुम्लाबाट वन कर्मचारीहरूको अनुमति प्राप्त जडीबुटी राखिएको भनिएको ट्रकमा १० करोड रुपियाँ बराबरको अवैध भेप(विद्युतीय चुरोट) फेला परेपछि ती वन कर्मचारीहरू नै छानबिनको घेरामा परेका छन् । भेप तस्करी प्रकरणमा डिभिजन वन कार्यालय हुम्लाका निमित्त प्रमुख लोकजंग शाहीलगायत वनका अन्य कर्मचारीहरूसमेत संलग्न रहेको हुन सक्ने आशंकामा उनीहरूमाथि समेत छानबिन हुने भएको हो ।

राजस्व अनुसन्धान विभागले भन्सार बिन्दुबाट आपूर्ति गर्ने र ट्रक पक्राउ पर्दासम्मको अवस्थामा संलग्न सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याएर छानबिन अघि बढाएको छ । भेप तस्करीको जालो माथिल्लो तहसम्मै फैलिएको हुन सक्ने भएकाले उच्चपदस्थ केही व्यक्तिहरू पनि छानबिनको दायरामा आउनसक्ने देखिएको छ ।

राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले केही दिन अघिमात्रै जडीबुटी सेतक चिनीका नाममा डिभिजन वन कार्यालय हुम्लाले छुट पुर्जी दिएको ट्रक दैलेखको खिड्कीज्युलाबाट नियन्त्रणमा लिएपछि सो ट्रकमा जडीबुटीमात्रै नभएर ठूलो मात्रामा भेप रहेको फेला परेको हो ।

सो ट्रकलाई डिभिजन वन कार्यालय हुम्लाका निमित्त प्रमुख शाहीले नै विभिन्न प्रपञ्च मिलाएर अनुमति दिएको स्रोतको दाबी छ । शाही हुम्लाबाट निर्वाचित सांसद तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीका सहोदर भाइ हुनुहुन्छ ।
जिल्ला वनका निमित्त प्रमुख शाहीले संकलन तथा छुट पुर्जी दिएको हुम्लामा संकलित जडीबुटी लोड भएको उल्लेख गरी पठाइएको ट्रकमा करिब ३९ हजार ९ सय थान विद्युतीय चुरोट (भेप) फेला परेको हो । यसको मूल्य करिब १० करोड रुपियाँ हाराहारीमा पर्छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले यस प्रकरणमा भन्सारको बिन्दुदेखि आपूर्ति गर्ने तथा अनुमति दिने सबै पक्षलाई छानबिनको दायरामा ल्याइने बताउनुभयो । महानिर्देशक चिलुवालले भेप तस्करी प्रकरण गम्भीर रहेकाले राजस्व अनुसन्धान विभाग नेपालगञ्ज कार्यालयका प्रमुख उमेश रिमाललाई नै अनुसन्धान अधिकृत तोकेर अनुुसन्धान थालिएको जानकारी दिनुभयो ।

तस्करीको ठूलो परिमाणको भेप रहेको ना अ प ८८३ नम्वरको ट्रक गत भदौ ७ गते राती ११ः१५ मा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको उक्त ट्रकलाई कोहलपुर लगेर राजस्व र भन्सारसहितको टोलीले खोलेर हेर्दा चीनबाट भन्सार छली गरी तस्करी गरेर ल्याएको ३९ हजार ९ सय थान भेप र २ हजार ४ सय ६ केजी सेतक चिनी फेला परेको थियो । बरामद भेप करिब १० करोडभन्दा बढी रुपियाँको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो भेप बोकेको ट्रकमा रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । राजस्व अनुसन्धान कार्यालय स्रोतका अनुसार पक्राउ परेकाहरूसँग प्रारम्भिक सोधपुछमा हुम्लाका केही व्यवसायी र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको नाम खुलाएको बताइको छ ।

यस प्रकरणमा व्यवसायीसमेत रहेका कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाको योजनामा तस्करी भएको पाइएको छ । लामाको सम्बन्ध उच्च तहका व्यक्तिहरूसँग रहेको स्रोतको दाबी छ ।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख लोकजंग शाहीले नै कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाका नाममा ५ हजार केजी सेतक चिनी उल्लेख गरी वन कार्यालय हुम्लाले नेपालगञ्जसम्म पुग्ने गरी ट्रक जाँचपास गरेका थिए । लामा र शाहीबीच पहिला नै सेटिङ भएको हुन सक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार केही समयअघि पनि केही ट्रकहरू त्यहाबाट यसरी नै सामान लिएर आएका थिए । त्यतिबेला भने ट्रक पक्राउ नपरेकाले ठूलै परिमाणको भेप हुम्ला नाका हुँदै तस्करी भएको हुन सक्ने स्रोतको दाबी छ ।

प्रतिकेजी २५ रुपियाँ उल्लेख गरी १ लाख २५ हजार राजस्वको रसिद काटेर जिल्ला वन डिभिजनले ट्रक जाँचपास गरेको थियो । राजस्व र सशस्त्र प्रहरीले चीनको ताक्लाकोट हुँदै हिल्सा नाकाबाट भेप तस्करी गरिएको आशंकामा शुरूदेखि नै उक्त ट्रकमाथि निगरानी गरेको थियो । राजस्व र सशस्त्रको टोलीले ट्रक पछ्याउँदै दैलेखको खिड्कीज्युलाबाट नियन्त्रणमा लिन सफल भएको थियो । जडीबुटी व्यवसायको आवरणमा गैरकानुनी धन्दा चलाएका लामाले कैलाश–ईश्वर जडीबुटी खरिद बिक्री संस्थाका नाममा भदौ ३ मा जाँचपासका लागि वनमा निवेदन दिएका थिए ।

त्यसलगत्तै दुई दिनपछाडि डिभिजन वन कार्यालय सिमकोट हुम्लाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत शाहीले फटाफट जाँचपास गराउँदै बाटो खुला गरिदिएका थिए । यसैका कारण पनि उहाँलगायत वनका अन्य केहि कर्मचारीको संलग्नता रहेको हुन सक्ने पाइएको हो । भेप तस्करीको संलग्नताका बारेमा जानकारी लिन खोज्दा जिल्ला वन डिभिजन कार्यालयका निमित्त प्रामुख शाहीसँग बारम्बार सम्पर्क गर्ने प्रयास गरिए पनि उहाँको मोबाइल स्विच अफ भएकाले सम्पर्क हुन सकेन । प्रहरीले यस प्रकरणमा ट्रक चालक भूमि रोकाय, ट्रकमा सवार हुम्ला सिमकोटका २७ वर्षीय छिरिङ लामा र मुगु खत्याडका ३२ वर्षीय जनक रोकायलाई पक्राउ गरेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले नाकामा हुने सबै प्रकारका तस्करी रोक्न कडाइ थालिएको बताउनुभयो । भेप तस्करी प्रकरणमा हुने अनुसन्धानमा पूर्ण सहयोग गरिने र आगामी दिनमा त्यस्तो घट्ना हुन नदिन विशेष सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

हुम्लाको भेप तस्करी प्रकरणमा भन्सार बिन्दुदेखि आपूर्ति गर्ने तथा अनुमति दिने सबै पक्षलाई छानबिनको दायरामा ल्याएर अनुसन्धान अघि बढाउँछौँ । भेप तस्करी प्रकरण गम्भीर रहेकाले राजस्व अनुसन्धान विभाग नेपालगञ्ज कार्यालयका प्रमुख उमेश रिमाललाई नै अनुसन्धान अधिकृत तोकेर अनुुसन्धान थालिसकेका छाँै, दोषी कसैलाई पनि छाड्दैनौँ ।
तीर्थराज चिलुवाल
महानिर्देशक, राजस्व अनुसन्धान विभाग


भेपको तस्करी व्यापक, फरक फरक नाकाको प्रयोग

पछिल्लो समयमा तस्करहरूले विद्युतीय चुरोट(भेप)को तस्करीलाई व्यापक बनाउन थालेका छन् । तस्कहरूले नेपाललाई भेप तस्करीको ट्रान्जिट बनाउन थालेको पाइएको हो । राजस्व अनुसन्धान विभागले केही समय अघिमात्रै रसुवा नाकाबाट ठूलो मात्रामा भेप बरामद गरेको थियो । त्यसपछि तस्करहरूले रसुवाको साटो अन्य नाकाहरू प्रयोग गर्न थालेको पाइएको छ । मुस्ताङ नाकाबाट पनि भेप तस्करी हुने गरेको छ ।

हाल आएर तस्करले हुम्लाको हिल्सा नाका प्रयोग गरेको पाइएको छ ।विभिन्न नाका हुँदै काठमाडौं ल्याइएको ठूलो परिमाणको भेप विभागले केही समयअघि बरामद गरेको थियो ।

विभाग र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा उपत्यकाका विभिन्न स्थान तथा अन्य बाहिरी जिल्लामा पनि राजस्व छलेर नेपाल भित्र्याइएका विद्युतीय चुरोट(भेप) ठूलो मात्रामा बरामद भएको थियो । त्यतिबेला विभागले १ लाख २० हजार थान भेप बरामद गरेको थियो । सो प्रकरणमा विभागले मुद्दा दायर गरिसकेको छ ।

चीनबाट मुख्यतया : रसुवागढी र तातोपानी नाकामार्फत भेप आयात हुँदै आएको थियो । यस्तै, कोरला नाकाको पनि प्रयोग हुने गरेको थियो । यसपटक हिल्सा नाका प्रयोग भएको हो ।

अहिले पनि विभिन्न स्थानबाट भेप तस्करी गरी भारततर्फ पठाउने गरिएको अनुमान विभागका अनुसन्धान अधिकारीहरूले गरेका छन् ।