डोटीमा जंगली चितुवाको आतंक, स्थानीयवासी त्रसिद्

1.88k
Shares

डोटी ।

डोटीको बडिकेदार गाउँपालिका लगायतका क्षेत्रमा पछिल्लो समय जंगली चितुवाको आतंक तीव्र रुपमा बढ्न थालेको छ । जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरी चितुवा बस्तीमा पसेर घर पालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयवासीहरू त्रासको वातावरणमा बस्न बाध्य भएका छन् ।

यहाँको बडिकेदार गाउँपालिका–४, काउलेबजार निवासी कमल ताडीका ५ वटा बाख्रा जंगली चितुवाले मारेको स्थानीय चक्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार चितुवाको आक्रमण यो पहिलो पटक होइन । यसअघि पनि सोही गाउँपालिका तथा छिमेकी बस्तिहरुमा चितुवाले बाख्रा, गोरु जस्ता घरपालुवा जनावरलाई मारेको थियो ।

चितुवाले मान्छेमा समेत आक्रमण गर्न सक्ने सम्भावना रहेको भन्दै स्थानीयहरू अत्यन्तै त्रसित भएका अर्का स्थानीय रोजबहादुर कलेले बताउनुभयो । उहाँले भन्नुभयो, “बच्चा–बच्ची बाहिर खेल्न जान सक्दैनन्, खेतमा काम गर्न जाँदा पनि डर लाग्छ, जंगल नजिकको बस्तीमा त साँझपख ढोका बन्द गरेर बस्नुपरेको छ ।”

सम्बन्धित निकायसँग बारम्बार चितुवा नियन्त्रणको माग गर्दै आएका भएपनि हालसम्म कुनै प्रभावकारी कदम नचालिएको स्थानीयवासीको गुनासो छ । जंगलमा खाद्य स्रोतको अभाव, अव्यवस्थित विकास निर्माण, र मानव अतिक्रमणका कारण चितुवा बस्तीमा आउन थालेका डिभिजनल वन कार्यालय डोटीले जनाएको छ ।