– आज गणेश चौथी गणेशको जन्मदिन, भब्य मनाउदै
– पुरानौ संरचना देख्दा दर्शनार्थी हर्षित विनायक फाउन्डेशनको आर्थिक सहयोगमा मुर्तिकार एवै अभियन्ता रवि शाक्यले बनाए हराएका संरचना
-पुरातत्व विभाग भन्छः जलविनायकको पुरानो तस्बीर फेला पारेपछि जस्ताको तस्त बनाउन अनुमति दियौ
-हराएको मुर्ति फेला परेको छैन, तस्बीको आधारमा पुरानै शैलीमा निर्माण
चोभार, कीर्तिपुर ।
जलविनायकमा लिच्छविकालमा निर्माण भएको चोभारस्थित जलविनायक पुरानै शैलीमा देखिएको छ । करिब सय वर्षअघि हराएको अनुमान गरेको तोरण, मूर्ति, हारलगायत गहना निर्माण गरी पुनःस्थापना गरेपछि क्वेना आजु गणेश पुरानै अवस्थामा देखिएको हो ।
विनायक फाउन्डेसनको आर्थिक सहयोगमा सम्पदा अभियन्ता एवं मूर्तिकार रवि शाक्य र उहाँको टिमद्वारा पहिलो पटक हराएका सबै मूर्ति, तोरण तयार भएको छ । आज भगवान् गणेशको जन्मदिन गणेश चौथीमा जलविनायक पुरानै स्वरूपमा देखिएको छ । आज सो मन्दिरमा विशेष पूजा गरिँदै छ ।
विनायक फाउन्डेसनका अध्यक्ष विद्वान् शाहीले पहिला हराएको मूर्ति जस्ताको तस्तै बनाएर तान्त्रिक विधिद्वारा पूजाअर्चना गरी पुनःस्थापना गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीले कुनै नौलो मूर्ति वा सामग्री बनाएका छैनांै । पुरातत्व विभागले उपलब्ध गराएको तस्वीर अध्ययन गरी हराएका मूर्ति र गहना पहिचान गरी बनाएका हौं ।’ ‘कहिले हरायो जानकारी छैन । सयांै वर्षअघि हुन सक्ला । तर, हामीले सबैको सहयोगमा पहिलोपटक क्वेना आजु पुनःस्थापना गरेका छौं’ –उहाँको भनाइ थियो ।
फाउन्डेसनले करिब २० लाख रुपियाँ सहयोगमा सबै मूर्ति र गहना तयार गर्न लगाएको हो । मूर्तिकार एवं अभियन्ता शाक्यको पहलमा हराएका मूर्ति र सामग्री पुनःस्थापना गर्न मूर्ति, गहना, नागराजलगायत संरचना तयार भएको हो । मन्दिरमा अष्टमातृकाको मण्डलामा अष्टमातृका हुनुपर्ने पाता राखेर अर्कै संरचना बनाइएको थियो । कतै पाता त कतै कामचलाउ मूर्ति स्थापना गरी संरचना परिवर्तन गरेको थियो ।
अब मन्दिरभित्र र बाहिर पुरानै शैलीका मूर्ति र संरचना देख्न पाइन्छ ।मूर्तिकार शाक्यको टिमले करिब ६ महिना लगाएर सबै संरचना तयार गरेको हो । साउन २७ गते महापूजा गरी मन्दिरका सबै मूर्तिसहितका संरचना राखेको थियो । सबै भक्तजनले नयाँ स्वरूपमा पुरानै क्वेना आजु देख्न पाउने भएका छन् । गणेश चौथीको दिन सो मन्दिरमा तीज मान्ने महिला र अन्य भक्तजनको घुइँचो लाग्ने गर्दछ । स्थानीयले उक्त मन्दिर झकिझकाउ पारेर सजाएका छन् ।
‘हामीले यस्तो कहिल्यै देखेका थिएनौं, नयाँ स्वरूपमा जलविनायक देख्न पाइयो’ –तीजको व्रतमा गणेश दर्शन गर्न आउनुभएका सविना कार्कीले नेपाल समाचारपत्रसँग भन्नुभयो । पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले विभागले सहमति दिएका संरचना पुनःनिर्माण गरेको जानकारी दिनुभयो । ‘हराएको मूर्तिबारे चासो राख्दा हामीले सयौं वर्षअघिको तस्वीर दिएका थियौं, सोही आधारमा पुनर्निर्माण भएको पाइयो’ –महानिर्देशक प्रधानाङ्गले भन्नुभयो ।
उहाँका अनुसार विभागलाई जानकारी भएअनुसार २०५७ साल चैतमा मूर्ति र केही संरचना हराएको विषयमा विभागमा निवेदन आएको थियो । २६ वर्षपछि पुरानै संरचनामा तयार भयो । के–के हराएका थिए भन्ने विषयमा अध्ययनकै विषय भएको उहाँको भनाइ थियो ।
मञ्जुश्रीले उपत्यकामै बस्ती बसाएसँगै सो मन्दिर स्थापना भएको किंवदन्ती छ । इतिहासमा उल्लेख भएअनुसार नेपाल संवत् ७२३ मल्ल राजा शिवसिंह मल्लले स्थापना गरेको उल्लेख छ । महानिर्देशक प्रधानाङ्गले इतिहासमा जे विषय उल्लेख भएपछि उपत्यकामा बस्ती बसेसँगै जनविनायक स्थापना भएको हो ।
मूर्तिकार एवं अभियन्ता शाक्यले मन्दिरबाट हराएका अष्टमातृका, सिंहनी, बेगिनी, इन्दे्रणी, रुद्रायणी, ब्रम्यायणी, महेश्वरी, कुमारी देवी, बाराही, चामुण्डा, महालक्ष्मी, व्यागिनी, प्रचण्ड भैरव, स्वच्छन्द्र भैरव, बीचमा भिनाटकको मूर्तिलगायत दुई दर्जन बढी ऐतिहासिक वस्तु निर्माण गरी पुनःस्थापना गरेको जानकारी दिनुभयो । पुनःस्थापना भएकामा हंसराज, नागकन्या, श्वेत भैरव, गरुडमाथि नारायण बसेको मूर्ति रहेका छन् । अधिकांश हराएका संरचनामा पाता राखिएको थियो । सबै ग्रिलको पाला नमस्ते पाता थियो, त्यसलाई परिवर्तन गरी पुरानो जस्तै मर्मत गरी पुनःस्थापना गराएको शाक्यले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘मन्दिरमा भित्र र बाहिरको तोरण बनायौं । माथि नागकन्या समातेको गरुड, फूलमाला समातेको परी, ताण्डव मुद्रामा नाचेको गणेश, रिद्धीसिद्धी थियो त्यो पनि हराएर पाता राखिएको थियो । त्यो पाता निकालेर जस्ताको तस्तै संरचना तयार गरिएको छ । छेपु अर्थात् कीर्तिमुख नदेखिने गरी, पातामा पिटेर राखेको थियो । पुरानै शैलीमा गरुड र ताण्डव मुद्रामा रहेको गणेश राख्यौं । नागराजाको चाँदीको मूर्ति टुक्राटुक्रा भएको थियो जोडेर पुरानै नागराज बनायौं ।’
‘साँढेमाथि सिंह उभिएको हतपत कहीँ देख्न पाइँदैन । त्यो मूर्ति पनि हराएको थियो । कहीँ देख्न नसकिने दुर्लभ मूर्ति मन्दिरका भित्री भागमा थियो त्यसलाई पनि पुरानै शैलीमा तयार गरी सोही स्थानमा स्थापना गरिएको छ । दायाँबायाँ दुईवटा आसन राख्यांै । यस्तो मूर्ति कतै पनि छैन । कुण्डभित्र गणेश थियो हराएको थियो । गणेशको सानो मूर्ति राखिएको हामीले अनुमान ग¥यौं । त्यसलाई पनि मल्लकालकै झल्को दिने गरी स्थापना गर्न सफल भयौं’ –मूर्तिकार शाक्यको भनाइ थियो ।
‘दर्शन गरौं भन्दा विनाटक महाकाल र जलविनायकको दर्शन हुनुपर्नेमा सानो मूर्ति दर्शन गर्ने व्यवस्था थियो । अब पुरानो जेजस्तो अवस्थामा छ त्यस्तै बनाएका छौं’ – शाक्यले नेपाल समाचारपत्रसँग भन्नुभयो । छत्रहरू, अष्टविनायक भएको मण्डलामा विष्णु तीनवटा गणेश हराएको थियो थियो । सबै मूर्ति चोरी भएको थियो । काठमाडौंको तलेजुको भावनीको जस्तै अष्टमातृका देवी भएको हार थियो । त्यो पनि चोरी भएर त्यही पनि कीर्तिमुख राखेर पाताको बनाएको थियो, अब त्यो देखिँदैन नयाँ स्थापना भएको छ । अष्टमातृका हार र पुरानै शैलीको नागराज, मुकुटसमेत नयाँ बनाइएको छ ।
हराएका मूर्ति पहिचान गरी ऐतिहासिक काम गर्न पाएकोमा मूर्तिकार शाक्य र विनायक फाउन्डेसनका अध्यक्ष शाही दुवैले हजार वर्षभन्दा पहिलाको मूर्ति र त्यसमा जडान भएका संरचना निर्माण गरेर आजको दिन भक्तजनलाई पूजा गर्ने व्यवस्था गराउन पाउँदा खुसी लागेको बताए ।
किंवदन्तीमा जनविनायकलाई पञ्चवली दिइन्छ । उग्ररूपमा ताण्डवनृत्य गरिरहेका गणेशलाई भैरवले गणेशमाथि चढेर शान्त पारेको किंवदन्ती छ । त्यही भएर भैरवमुनि जलविनायक स्थापना गरिएको हो । गणेश मन्दिरमा भैरव माथि र गणेश तल रहेको छ । अब यसको स्वरूप यो हो भनेर मानिएको छ । जलविनायक भनेकै जलमा बस्ने बुझिन्छ । जलको प्रतीक मानिने जलविनायकलाई स्थानीय भाषामा क्वेना द्यो भन्ने गरिन्छ । चोभार गल्छी खोंचमा अवस्थित तीनतले प्यागोडा शैलीको यस मन्दिरमा गणेशको मूर्ति भने सादा ढुंगामा पुजिन्छ ।
काठमाडौं उपत्यका पानीले भरिएको बोधिसत्व मजुश्रीले चोभार गल्छी काटेर पानी बाहिर पठाएको पाइन्छ । त्यससँगै जनविनायक मन्दिर स्थापना भएको किंवदन्ती छ । मन्दिरको प्रवेशद्वारको दायाँबायाँ दुईवटा सिंह र होचो स्तम्भमा गणेशको वाहन छुचुन्द्रो र टुँडालमा अष्टमातृका अष्टभैरव कुँदिएका छन् । यसअघि प्रवेशद्वारका सिंहलगायत केही संरचना हराएपछि २०३८ सालमा विभागमा उजुरी दिएको थियो ।











प्रतिक्रिया