एसपी सिलवालविरुद्ध ३५ उजुरी, पाँच समिति मार्फत छानबिन


काठमाडौं ।

मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया (बारा) का प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल आर्थिक अनियमितता र कार्यशैली सम्बन्धी गम्भीर आरोपमा मुछिएका छन् ।

उनीविरुद्ध दर्जनौं उजुरी परेको र गुनासो बढेपछि मधेश प्रदेश प्रहरी कार्यालयले आन्तरिक छानबिन अघि बढाएको छ । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा चर्तुवेदीले सिलवालविरुद्ध उजुरी परेको पुष्टि गर्दै छानबिन समिति गठन गरिएको जानकारी दिए ।

“छानबिन समितिले काम थालिसकेको छ । अहिलेसम्म अनुसन्धानकै क्रममा भएकाले विस्तृत विवरण भन्न सक्ने अवस्था छैन,” डीआईजी चर्तुवेदीले भने ।

पाँच छुट्टै समिति, ३५ उजुरी

प्रहरी स्रोतका अनुसार एसपी सिलवालविरुद्ध हालसम्म ३५ वटा लिखित उजुरी दर्ता भएका छन् । ती उजुरी पाँच विभिन्न विषयसँग सम्बन्धित भएकाले, छुट्टाछुट्टै अनुसन्धान गर्न पाँच समिति गठन गरिएको छ । समितिहरूको नेतृत्वमा एसएसपी कमल थापा, एसएसपी भीम दाहालसहित वरिष्ठ अधिकृतहरूलाई जिम्मेवारी दिइएको छ ।

सिलवाललाई आरोपहरूको लिखित जवाफ पेश गर्न समय समेत तोकिएको प्रहरीले जनाएको छ ।

उजुरीका मुख्य बुँदा

उनीमाथि लागेको मुख्य आरोपहरू यसप्रकार छन्—

मापसे प्रकरणमा गैरव्यवहार : मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई जरिवाना तिरेपछि छाड्नु पर्ने कानुनी प्रावधान हुँदाहुँदै रातभर नियन्त्रणमा राख्ने, चालकहरूसँग रकम असुलेको आरोप ।

निर्दोषलाई अनावश्यक नियन्त्रण : मापसे नगरेका चालकलाई समेत जरिवाना काटी गाडी जिम्मा लगाएर छाड्न निर्देशन दिइएको अवस्थामा समेत रातभर नियन्त्रणमा राखेको उजुरी ।

चोरीका गाडी प्रयोग : नियन्त्रणमा लिइएका चोरीका गाडी भन्सारमा बुझाउनुपर्नेमा, आफूखुसी प्रयोग गरेको गुनासो ।

भ्रष्ट आचरण : सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रक पथलैया चेकपोष्टमा रोकी ८ लाख रुपैयाँ असुलेर छाडेको भन्ने गम्भीर उजुरी ।

यस्ता उजुरी र आरोपहरूलाई गम्भीरतापूर्वक लिएको मधेश प्रदेश प्रहरी कार्यालयले तथ्य–प्रमाण संकलन गरी सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ । प्रहरी उच्च नेतृत्वले आन्तरिक शुद्धीकरणलाई प्राथमिकता दिएको भन्दै यसप्रकारका छानबिनलाई निष्पक्ष रूपमा अघि बढाइने जनाएको छ ।

सिलवालविरुद्धको छानबिन अझै जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ । तर लगातार उजुरी र प्रश्न उठिरहेका कारण यस घटनाले प्रहरी संगठनकै छवि र शुद्धतामा चुनौती खडा गरेको मानिन्छ ।