वैदेशिक रोजगारीको ठगीमा दुई जना पक्राउ


काठमाडौं ।

वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजारका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन्। प्रहरीले अनुसार, सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट १२ लाख रुपैयाँ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै एक पीडितबाट ६ लाख रुपैयाँ लिएको आरोप छ।

रकम लिएपछि सम्पर्कविहीन बनेका उनीहरूमाथि पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौं–९ र योगेन्द्रलाई काठमाडौं–१० बाट पक्राउ गरेको हो।

दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।