‘बसाइ सरेर आउनुस्, घर उपहार पाउनुस्’

2.16k
Shares

हेटौंडा ।

आजभोलि गाउँमा उचित संख्यामा जनसंख्या नहुँदा खेतबारीको त कुरै छाडौं, विवाह, पूजालगायत कुनै सामाजिक काम गर्नसमेत कठिन छ । विदेशिने क्रम र बसाइँसराइबाट गाउँघरमा ज्येष्ठ नागरिकहरूमात्रै बाँकी छन् । अझै गाउँमा घरजग्गा हुनेहरू पनि आफ्नो जग्गा बाँझै राखी घरमा ताला लगाएर सुगम ठाउँमा बसोबास गरिरहेका छन् ।

यो अवस्थाबाट मकवानपुरको विकट राक्सिराङ गाउँपालिका पनि अछुतो छैन । हरेक वर्ष करिब १ सय ८५ जनाभन्दा धेरै बसाइँ सरेर जाने गरेको पालिकाकै तथ्यांक छ । गाउँ खाली हुँदै जाने यो अवस्थालाई रोक्न पालिकाले अन्यत्रबाट बसाइँ सरी आउनेलाई ‘घर उपहार’ दिने योजना बनाएको छ । सबै जनता सहरमुखी हुनुका साथै सुविधा खोज्ने बहानामा सुगम क्षेत्रमा बसाइँ सरी जानेको संख्या बढ्दै गएपछि पालिकाले गाउँसभाबाट उक्त नीति बनाएको हो ।

पालिकाले आव २०८१|०८२ देखि पालिकामा बसाइँसराइ गरी आउनेलाई दुईकोठे घर निर्माण गरिदिने निर्णय गरेको भए पनि पहिलो वर्ष नतिजा शून्य रह्यो । हाल भने उक्त गाउँमा बसाइँसराइ गरी आउने धादिङका ४ जनाले जग्गा किनेर बसाइँसराइको प्रमाणसहित घरदाबी गरेकाले पालिकाको करिब ५ लाख रुपियाँको सहयोगमा हाल घर बनिरहेका छन् । सडकले छोएको कम्तीमा २ कट्ठा जग्गा, वडाको सिफारिस, बैंक खाता खोलेको प्रमाण आदि पेस गरेमा पालिकाले ‘सुन्दर समाज हाम्रो सार – बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रमअन्तर्गत घर बनाउन नगद अनुदान दिने गरेको छ ।

दुर्गम क्षेत्रमा जति विकास भए पनि सुविधा छैन भन्ने मानसिकताले पनि बसाइँसराइ हुने गरेको जिकिर गर्दै पालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो– ‘विगतमा सिटामोलसम्म नपाइने पालिकामा अस्पताल बनेको छ । वडामा स्वास्थ्यचौकी छन् । मावि तहसम्म पढाइ हुन्छ भने पालिकामा बाटोघाटो निर्माणका साथै खानेपानी सुविधा पुगेको छ । प्रायः सबै वडामा बिजुली पुगेको छ । तर, गाउँपालिका भन्नेबित्तिकै दुर्गम गाउँपालिका सोच्ने गलत परिपाटीका कारण बसाइँ सरेर आउनेको संख्या कम घ ।’ उहाँले यसै कारण पालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने सम्बन्धमा बैठकहरू बसेर सूचनाको म्याद थप्दै आएको जानकारी पनि दिनुभयो ।

मकवानपुरको पश्चिमोत्तर साबिक ४ गाविस राक्सिराङ, काँकडा, खैराङ र सरिखेत मिलाई २०७३ फागुन २७ को सरकारी निर्णयले राक्सिराङ गाउँपालिका गठन भएको हो । राष्ट्रिय जनगणना, २०७८ अनुसार पालिकाको जनसंख्या २५ हजार ९ सय ९६ जना छ भने पालिकाले २०७५ मा गरेको घरधुरी सर्वेक्षणअनुसार पालिकामा ३० हजार ८ सय ३० जना थिए । यसको कुल क्षेत्रफल २२६.७ वर्गकिमी र जनघनत्व १३५.७२ व्यक्ति वर्गकिमी छ ।

यसको पूर्वमा हेटौंडा उपमहानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ती नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका पर्दछन् ।
९ वटा वडा रहेको पालिकामा तामाङ समुदाय ४६.२५ प्रतिशत, चेपाङ समुदाय ४३.९६ प्रतिशत, क्षेत्री समुदाय २.७५ प्रतिशत, दलित समुदाय २.३८ प्रतिशत, मगर समुदाय १.५० प्रतिशत, नेवार समुदाय ०.५६ प्रतिशत र ब्राह्मण समुदाय ०.०६ प्रतिशत बसोबास गर्छन् ।

अरूलाई घर उपहार, आफ्ना भने बेघर
ह्वांग परेको छाप्रोमा बस्छिन् सुत्केरी

पाहुनालाई ‘घर उपहार’ दिने नीति बनाएको मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाका रैथाने भने बेघर भएका छन् । आफ्नै गाउँको सामान्य छाप्रो, त्यो पनि झिक्रा र काठले बारिएको, ह्वांग परेको, पानी परेको बेला चुहिने र घाम लागेको बेला भित्रै बस्दा पनि घामले पोल्ने घरमा बस्ने रैथानेको बेदनाले अझै छुन सकेको छैन स्थानीय सरकारलाई ।

त्यस्ता घरमध्ये एक हो, बिकट राक्सिराङको एक एकान्तकुनामा रहेको सुमनसिं प्रजा (चेपाङ) को घर । राक्सिराङ गाउँपालिका वडा–१, इन्द्रुङका करिब ३१ वर्षीय प्रजाको प्रष्ट बोल्न सक्नुहुन्न । आर्थिक अभावका कारण उहाँले घरपरिवार चलाउन अरूको एउटा गाई, एउटा बाख्रा अधियाँमा पाल्नुभएको छ ।

हुन त उहाँको पाखामा ३ रोपनी बारी छ । तर, परिवारलाई भदौमा नै अनिकाल लाग्ने गरेको छ । राम्रो बासस्थान नभएकाले यसअघि केही युवाले त्रिपालको व्यवस्था गरी स्याउला र काठको पोल गाडेर घामपानीबाट रोक्न अस्थायी टहरा बनाइदिएका थिए ।

बिडम्बना, यस वर्षको बर्खाले त्यो अस्थायी घर पनि भत्काइदियो । त्यही भत्केको घरमा गत साउन ५ गते सुत्केरी हुनुभएकी उहाँकी पत्नी कान्छीमाया आफ्नो नवजात छोरासँगै बसिरहनुभएको छ । स्वास्थ्य चौकी लगभग ४ घण्टा टाढा र खोलाको बाटो भएकाले गर्भावस्थामा पनि स्वास्थ्य परीक्षण गराउन नपाएकी कान्छीमायाको पहिलो सन्तानलाई कुपोषण भएको पाइएको स्थानीयले बताएका छन् ।

पालिका अध्यक्ष मल्लका अनुसार प्रजाको शारीरिक अवस्था कमजोर र बोल्न नसक्ने भएका कारण उहाँले घर बनाउन नसक्नुभएको हो । उहाँका अनुसार दिनभरि ज्याला मजदुरी गर्ने, माछा, पाहा, चमेरो मार्न व्यस्त हुनाले घर बनाउन समय नपाएकाले हालसम्म प्रजा घरविहीन हुनुपरेको हो । पालिकाको अध्यक्ष मल्ल आफैं भन्नुहुन्छ– ‘उहाँ बोल्नमात्र नभई पहुँच नभएका कारण जनता आवास कार्यक्रमअन्तर्गत घर पाउन सक्नुभएन ।

उहाँको विषयमा कसैले बोलिदिएनन् ।’पालिकामा आन्तरिक स्रोत नभएको कारण विपन्न परिवारलाई यसरी बिजोग अवस्थामा राख्नु विवस भएको उहाँका भनाइ थियो । यस वर्ष पलिकाले विपन्न परिवारका लागि १५ लाख रुपियाँ बजेट छुट्याएको भन्दै उहाँले यस वर्षबाट विपन्न परिवारलाई सहयोग पुग्ने गरी स्थानीय सरकार आफंै घरघरमा गई वृद्ध र बोल्न नसक्नेहरू पत्ता लगाई सहयोग गर्ने योजना बनाइएको बताउनुभयो ।

संघीय सरकारको ‘जनता आवास’, ‘खरको छानामुक्त आवास’, ‘सुरक्षित आवास’ जस्ता कार्यक्रमहरू सुमन जस्ता पहुँचविहीनहरूका लागि आकाशको फलजस्तै बनेको छ । प्राकृतिक विपत्ति नभएको सामान्य अवस्थामा पनि प्रजा परिवारका ६६ प्रतिशतलाई आफ्नो खेतीपातीबाट ६ महिनाभन्दा कम खान पुग्दैन । एक तिहाइभन्दा बढी चेपाङको खाना जंगलमा आधारित छ । लगभग ४ प्रतिशत चेपाङ परिवारसँग मात्र खाद्य बचत हुन्छ ।

आव २०५५÷०५६ देखि चेपाङ ‘संरक्षित क्षेत्र’ हुनुपर्दछ भनेर माग गर्दै आइरहेको छ । राष्ट्रिय जनगणनाअनुसार २६ जिल्लामा चेपाङको बसोबास रहेको भए तापनि मकवानपुरमा चेपाङ जातिको बाहुल्यता छ । मकवानपुरमा १९ हजार २ सय ३३ चेपाङ छन् । जिल्लाको जातिगत हिसाबमा चेपाङ पाँचौं स्थानमा छन् । चेपाङहरू नेपालमा अतिसीमान्तकृत समुदाय र जनजातिमा पर्छन् । सरकारले सूचीकृत गरेको र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सूचीका ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हुन् ।