काठमाडौंं ।
गृहमन्त्री रमेश लेखकले आइतबार मुख चिप्लिएर एउटा भाषण गर्नुभयो । त्रिविमा गृह मन्त्रालय पस्यो, प्राध्यापकलाई पीएसओ दिएका छौं । भन्नुपर्ने पदाधिकारी थियो, उहाँले प्राध्यापक उच्चारण गर्नुभयो । अर्थात् मुख चिप्लियो । उहाँले यसो भनिरहँदा करिब ५ लाख विद्यार्थी अध्ययनरत त्रिविमा त्रास कायमै थियो ।
उपकुलपति प्राडा दीपक अर्याल, रेक्टर प्राडा खड्ग केसी र रजिस्टार प्राडा केदार सिजालले पीएसओ पाउनुभएको छ । उपकुलपति अर्यालले करिब एकसाताअघि र दुई पदाधिकारीले ३ दिनअघिबाट पीएसओ पाउनुभएको हो ।
त्रिवि शान्त हुन्छ त ? पदाधिकारीले पीएसओ पाउँदैमा त्रिवि शान्त हुँदैन । पदाधिकारी र विद्यार्थीबीचको सम्बन्ध सुधार हुनुपर्छ । विद्यार्थी संघ संगठनले पदाधिकारीको सम्मान गर्न सिक्नुपर्छ भने पदाधिकारीले समस्या आइपरे विद्यार्थीसँग सहयोग लिनुपर्छ ।
तीन पदाधिकारीले पीएसओ पाए पनि विद्यार्थीले राखेको माग पूरा हुन सकेको छैन । गृहमन्त्री रमेश लेखकलाई विद्यार्थीको प्रश्न छ– ‘गृहमन्त्रीज्यू पदाधिकारीलाई पीएसओ दिँदैमा विद्यार्थीको माग पूरा हुन्छ त ?’ हुँदैन माग पूरा गर्न प्रधानमन्त्री एवं कुलपति र सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तले पहल गर्नुपर्छ । अन्यथा पीएसओले मात्र त्रिवि जोगाउँदैन पदाधिकारीले नै पहल गर्नुपर्छ ।
तत्कालीन उपकुलपति केशरजंग बरालको कार्यकालमा रेक्टर र रजिस्टारको जिम्मा पाएका केसी र रिजालकै कारण समस्या आएको हो । हचुवाको भरमा चार विभाग स्थापना गर्न रेक्टर केसीको मुख्य भूमिका छ । गएको असोज १ गते अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैंगिक अध्ययन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभिएको थियो । गाभिएका कार्यक्रमको शुल्क घटाउनुपर्ने माग राखेर अखिल (क्रान्तिकारी) ले आन्दोलन गरेको थियो । हाल सो आन्दोलन केही दिनका लागि मत्थर भएको छ । तर, समस्या समाधान भएको छैन ।
रेक्टर केसीको कार्यकालमा समस्या आएको थियो । अहिले समस्या समाधान गर्न उहाँले खासै चासो देखाउनुभएको छैन । बरु हामी असुरक्षित भयांै पीएसओ चाहियो भन्दै गुहार मागेर पीएसओ पाउन सफल हुनुभएको छ । स्रोतका अनुसार रेक्टर केसीले तीनमहिने उपकुलपतिको कार्यभार सम्हाल्दा आन्दोलनकर्ता विद्यार्थीले यो विषयमा कुनै प्रसंग चलाएनन् । उहाँकै पहलले विभाग बन्यो, उहाँ नै उपकुलपति हुँदा केही गर्न सक्नुभएन । जब उपकुलपतिको कार्यकाल सकियो अनि अनेरास्ववियु (क्रान्तिकारी) ले आन्दोलन ग¥यो, उपकुलपतिको मूल ढोकामा रिले अनशन बस्यो । रेक्टर र रजिस्टारको कार्यकक्षमा तोडफोड भयो ।
कुनै पनि कार्यक्रमलाई विभाग बनाउन निश्चित मापदण्ड र कार्यविधि हुन्छ, तर पदाधिकारीले हचुवाको भरमा निर्णय गरेर चार विभाग बनाए । यसको मुख्य भूमिका रेक्टर केसीको छ । आफ्नो भवन, शिक्षक र कक्षाकोठालगायत भौतिक र प्रशासनिक संरचना पाउनसमेत समस्या भएको अवस्थामा हचुवाको भरमा विभाग थप गर्दा समस्या भएको हो ।
अघिल्लो कार्यकालका रेक्टर केसी र रजिस्टार रिजालले समन्वयकारी भूमिका खेल्न नसक्दा समस्या भएको हो । अघिल्लो कार्यकालका पदाधिकारीसँग देखिएको समस्या उपकुलपति आउनासाथ कसरी दोहोरियो भन्ने विषय शंकाका दृष्टिले हेरिएको छ । विद्यार्थीले पीएसओ राख्दैमा समस्या समाधान नहुने जिकिर गरेका छन् । आन्तरिक रूपमा ५ निकायमा भागबण्डाले समस्या बढाएको हो । उपकुलपति प्राडा अर्यालले केही दिनबाट त्रिवि शान्त भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘केही दिनबाट काम गर्न थालेका छौं, त्रिविभित्र देखिएका सबै समस्या समाधान गर्ने तयारीमा छौं ।’
त्रिविमा रिक्त रहेको परीक्षा नियन्त्रक, पाठ्यक्रम विकास केन्द्र, अनुगमन निर्देशनालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, कानुन संकायको डीन र विद्यार्थी कल्याण तथा खेलकुद महाशाखा गरी निकायमा आफ्नो पार्टीको भागबण्डा कुरिरहेका विद्यार्थी संगठनले मागअनुसार भागबण्डा नपाए फेरि आन्दोलन हुने सम्भावना छ ।
आन्दोलन भए पीएसओले रोक्न सक्दैन, पदाधिकारीले आन्दोलन रोक्न सक्ने क्षमता छैन पीएसओ त पदाधिकारी जहाँ गयो त्यहीँ पुग्छन् आन्दोलन झन् उग्र बन्छ । प्रहरीको सहारामा त्रिवि चलाउन खोज्नु गलत भएको पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘हाम्रो पालामा त पीएसओ लिएका थिएनौं । अहिले पीएसओ पाएर पदाधिकारी शान्त हुनुभएको छ ।’ विद्यार्थी र पदाधिकारीबीच सम्बन्ध नसुधिँ्रदासम्म प्रहरीले त्रिविको सुरक्षा दिन समस्या हुने उहाँको भनाइ थियो ।











प्रतिक्रिया