कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाका पालिकाहरु उत्कृष्ट

1.03k
Shares

स्याङ्जा ।

स्याङ्जाका पालिकाहरुले गर्दै आएको स्वमूल्याङ्कनको तथ्याङ्कमा सुधार देखिएको छ । आर्थिक वर्ष २०७९|०८० मा ८० दशमलब १८ अंक ल्याएका जिल्लाका पालिकाहरुले हालै प्रकाशित नतिजा अनुसार २०८०|०८१ मा गरेको स्वमूल्याङ्कनमा ८८ दशमलब ८६ अंक प्राप्त गरेका छन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को आर्थिक वर्ष २०८०|०८१ को नतिजामा उत्कृष्ट तिनमा परेको अर्जुनचौपारी जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकामध्ये पहिलो बन्न सफल भएको छ । पछिल्लो नतिजा अनुसार अर्जुनचौपारी देशभरका ७ सय ५३ पालिकामध्ये उत्कृष्ट तिन गाउँपालिकामा पर्न सफल भएको हो ।

आर्थिक वर्ष २०८०|०८१ को नतिजामा देशकै तेस्रो र जिल्लाको पहिलो भएको अर्जुनचौपारीले ९८ अंक प्राप्त गरेकोमा अघिल्लो नतिजामा ९४ अंक ल्याएको थियो । हालैको नतिजामा जिल्लामा दोस्रो भएको फेदीखोला गाउँपालिकाले ९४ दशमलब ५ अंक प्राप्त गर्दा अघिल्लो वर्ष ८७ दशमलब ७५ अंक ल्याएको लिजाको प्रकाशित नजितामा उल्लेख छ ।

जिल्लाकै तेस्रो आँधीखोला गाउँपालिकाले ९४ अंक ल्याएकोमा अघिल्लो स्वमूल्याङ्कनमा ९० दशमलब २५ अंक ल्याएको थियो । चौथो भएको कालिगण्डकी गाउँपालिकाले ९३ दशमलब ७५ अंक प्राप्त गर्दा अघिल्लो नतिजामा ८५ दशमलब २५ अंक ल्याएको थियो । जिल्लामा पाँचौं र नगरपालिकातर्फ पहिलो भएको भीरकोट नगरपालिकाले ९३ दशमलब ५ अंक ल्याउँदा अघिल्लो नतिजामा ८२ दशमलब ७५ अंक ल्याएको थियो ।

गल्याङ् नगरपालिकाले पछिल्लो नतिजामा ९० अंक ल्याएकोमा अघिल्लो वर्ष ८२ दशमलब ७५ अंक प्राप्त गरेको थियो । हरिनाश गाउँपालिकाले पछिल्लो नतिजामा ८७ दशमलब ५० अंक ल्याएकोमा अघिल्लो वर्ष ८० दशमलब २५ अंक ल्याएको थियो । पछिल्लो नतिजामा ८५ दशमलब ५० अंक ल्याएको वालिङ् नगरपालिकाले अघिल्लो वर्ष ८६ दशमलब ७५ अंक ल्याएको बताइएको छ ।

पछिल्लो नतिजामा ८५ अंक ल्याएको पुतलीबजार नगरपालिकाले अघिल्लो वर्ष ६६ दशमलब ७५ अंक ल्याएको थियो । ७८ दशमलब ५० अंक ल्याएर नगरपालिकातर्फ अन्तिम र जिल्लामै १० नम्बरमा परेको चापाकोटले अघिल्लो नतिजामा ५४ दशमलब २५ अंक ल्याएको थियो । हालै ७७ अंक प्राप्त गरेको बिरुवा गाउँपालिकाले अघिल्लो वर्ष ७१ दशमलब २५ अंक ल्याएको थियो ।

जिल्लाका ११ मध्ये १० वटा पालिकाको प्राप्त अंक बृद्धि हुँदा वालिङ नगरपालिकाको अघिल्लो नतिजाको तुलनामा पछिल्लोमा अंक घटेको छ । नतिजा अनुसार पछिल्लो वर्ष चापाकोटले २२, पुतलीबजारले १९, भीरकोटले ११, गल्याङ् र कालिगण्डकीले ८÷८ र फेदीखोलाले झण्डै ७ अंक बृद्धि गर्न सफल भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

लिजामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय गरी १० वटा विषयगत क्षेत्रहरु रहेका छन् ।

विषयगत क्षेत्रहरुको ३ वटा स्थिति विश्लेषण र १०० वटा सूचकहरुको मूल्याङ्कनका आधारमा अंक प्रदान गरिन्छ । हरेक सूचकको अंकभार एक रहेको र लिजा प्रणालीमा सबै सूचकहरुको प्रमाण सहित स्थानीय तहहरुले दाबी पेश गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गर्दछ । स्थानीय तहहरुले गरेको दाबी र प्रमाणलाई मूल्याङ्कन गरेर अंक प्रदान गर्ने गरेको मन्त्रालयले जनाएको छ ।