काठमाडौं।
काठमाडौंको गोंगबुस्थित एक घरभित्र नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–२६, गोंगबु क्षेत्रमा अवैध सुनको खरिद–बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निगरानीका क्रममा लाक्पा शेर्पा (३३ वर्ष, स्थायी ठेगाना — सोलुखुम्बु, दूधकुण्ड नगरपालिका–१, टाक्सिण्डो) लाई नियन्त्रणमा लिएको हो।
शेर्पाको साथबाट प्रहरीले सुनजस्तो देखिने करिब १ केजी बराबरको पहेँलो धातु बरामद गरेको छ। उक्त धातुको परीक्षण गर्दा वास्तविक सुन नभई सुनजस्तो भान पार्ने धातु रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
अनुसन्धानबाट उनले विभिन्न व्यक्तिलाई सो धातुलाई सुन भनी देखाई आर्थिक लाभ उठाउने किसिमको ठगी गर्ने गरेको खुलेको छ। पक्राउ परेका शेर्पालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको प्रहरी उपरीक्षक अंगुर जी.सी.ले जानकारी दिनुभयो।
बरामद धातुमा ‘एएब…’ लगायतका विदेशी लेखोट अंकित रहेको र यो नक्कली सुन प्रयोग गरी ठगी गर्ने गिरोहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया