सुरक्षित काठमाडौँ’ अभियान : लागूऔषध नियन्त्रणदेखि विपद् उद्धारसम्म, महानगरीय प्रहरीको प्रगति


काठमाडौँ ।

देशको संघीय राजधानी काठमाडौँ उपत्यकाको शान्ति–सुव्यवस्था कायम राख्ने चुनौतीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले आफ्नो कार्यकालमा व्यवस्थित ढंगले व्यवस्थापन गरेको देखिन्छ।

कमान्ड सम्हालेलगत्तै उनले सुरु गरेको ‘लागूऔषधविरुद्धको महाअभियान’ अहिले प्रभावकारी बनेको छ। पत्रकार, कलाकार, खेलाडी, औषधि व्यवसायीलगायत समुदायका विभिन्न वर्गलाई जोडेर सञ्चालन गरिएको यस अभियानले प्रहरीले कारबाहीलाई कडा बनाएको मात्र होइन, सूचना दिने र मुद्दा दर्ता गर्ने संस्कृतिमा समेत उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ।

विपद् व्यवस्थापनमा तयारी

उपत्यकामा प्राकृतिक विपद् आइपरे उद्धार गर्ने साधन–स्रोतको अभावलाई मध्यनजर गर्दै एआईजी तामाङको पहलमा हाल सात वटा रबर बोट, १,३९१ लाइफ ज्याकेट, ७७४ अग्नि–समन यन्त्र, ४४ फायर सुट, १६ ड्रिल मेसिनलगायत सामग्री तयारी अवस्थामा राखिएको छ।

२९ वटा सामुदायिक सेवा केन्द्रमार्फत ३६१ सामुदायिक स्वयंसेवक र ४८७ प्रहरीलाई विपद् उद्धार तालिम दिइएको छ। तामाङका अनुसार “विपद्को मौसम वा आन्दोलनको मौसम अनुसार प्रहरीलाई निरन्तर तालिम दिनु आवश्यक हुन्छ, जसले व्यावसायिकता र कार्यक्षमता बढाउँछ।”

त्रि–वर्षीय कार्ययोजना

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता शेखर खनालका अनुसार उपत्यकाको सुरक्षालाई व्यवस्थित बनाउन १४ लक्ष्य, ८३ उद्देश्य र १९४ गतिविधि सहितको त्रि–वर्षीय कार्ययोजना कार्यान्वयनमा छ।

यसमा अपराध अनुसन्धानको स्तरवृद्धि, प्रहरी कारबाहीलाई प्रभावकारी बनाउने, सडक तथा ट्राफिक व्यवस्थापन सुधार, अत्याधुनिक प्रविधिको प्रयोग, समुदाय–प्रहरी साझेदारी, पर्यटक प्रहरी सुदृढीकरणलगायतका प्रावधान समावेश छन्।

सोही योजनाअनुरूप ‘साइबर पेट्रोल युनिट’ (CPU) गठन गरी सामाजिक सञ्जाल तथा इन्टरनेटमा आपराधिक गतिविधि निगरानी सुरु गरिएको छ। यस्तै, जात्रा–पर्व, उत्सव र अन्तर्राष्ट्रिय दिवसहरूको अभिलेख तयार पारेर सुरक्षित र मर्यादित बनाउने कार्य पनि अघि बढाइएको छ।

अपराध नियन्त्रण र तथ्याङ्क

आर्थिक वर्ष २०८१/८२ मा उपत्यकामा दर्ता भएका प्रमुख १० अपराधमा बैंकिङ कसूर, सार्वजनिक हितविरुद्धका कसूर, चोरी, ठगी, भवितव्य ज्यान, लागूऔषध, आत्महत्या, बलात्कार, ज्यान मार्ने उद्योग र सवारी ज्यान पर्छन्।

औसतमा उपत्यकामा दैनिक १९ सडक दुर्घटनामा २१ जना घाइते र प्रत्येक दुई दिनमा एकजनाको मृत्यु हुने तथ्याङ्क छ। यसलाई न्यूनीकरण गर्न प्रहरीले गस्ती, सचेतना कार्यक्रम र प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको प्रवक्ता खनालले बताए।

‘प्रहरी मेरो साथी’ अभियान

नदी फोहोर निषेध, शान्त छिमेकी, युवासँग प्रहरीजस्ता अभियानमार्फत स्थानीयवासीसँग नजिकिएको प्रहरीले ‘प्रहरी मेरो साथी’ भन्ने धारणा बलियो बनाएको देखिन्छ।

समुदायसँगै अघि बढाउने नीति लिएर काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरक्षालाई मात्र होइन, सामाजिक व्यवहार र जनचेतनामा पनि सकारात्मक प्रभाव पारेको छ।

भीडभाड, भीआईपी–भीभीआईपीको ओहोर–दोहोर, हुलदंगा र अपराधका चुनौतीले भरिएको उपत्यकाको ‘हट सीट’मा बसेर एआईजी टेकबहादुर तामाङले देखाएको कमान्ड क्षमता र अपराध नियन्त्रणको शैली भविष्यमा पनि प्रहरी नेतृत्वका लागि अनुकरणीय रहने देखिन्छ।