वीरगन्जमा हैजा फैलिँदै, संक्रमण पुष्टि भएका ३९ जना , तीनको मृत्यु


वीरगन्ज ।

पछिल्लो एक सातादेखि पर्सा जिल्लाको वीरगन्ज र आसपासका क्षेत्रमा हैजा (कोलेरा) को संक्रमण तीव्र गतिमा फैलिएको छ। वीरगन्जका विभिन्न अस्पतालहरूमा झाडापखालाका बिरामीको संख्या ह्वात्तै बढेपछि नमुना परीक्षण गरिएको थियो, जसमा कैयौँ बिरामीमा हैजा पुष्टि भएको छ। हालसम्म ३९ जना संक्रमित पुष्टि भइसकेका छन् भने ३ जनाको मृत्यु भएको छ।

साउन २८ गतेदेखि बिरगंजका अस्पतालहरूमा छिटपुट रूपमा झाडापखालाका बिरामी आउन थालेका थिए। प्रारम्भमा अस्पतालले सामान्य रुपमा नै उपचार थाले पनि बिरामीको संख्या बढ्दै गएपछि चिकित्सकहरू सतर्क बने। बिरगंजको तराई अस्पतालमा गरिएको परीक्षणपछि कोलेराको संक्रमण पुष्टि भएको हो। यसपछि अन्य अस्पतालहरूमा पनि परीक्षण सुरु गरियो।

बिरगंज महानगरपालिकाले हैजा पुष्टि भएको औपचारिक जानकारी गत बिहीबार मात्रै पाएको थियो। महानगरको स्वास्थ्य शाखा प्रमुख राजु साहका अनुसार हैजा पुष्टि भएपछि थप बिरामीहरूको परीक्षण गर्दा संक्रमण संख्या ३९ पुगेको हो। यद्यपि अस्पतालमा उपचाररत २०० भन्दा बढी बिरामीमध्ये धेरैमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन जैमद ठाकुरका अनुसार हाल बिरगंजका अधिकांश अस्पतालहरूमा झाडापखालाका बिरामीको भीड छ। उनका अनुसार संक्रमितमध्ये धेरैको अवस्था सामान्य रहेको भए पनि केहीको अवस्था चिन्ताजनक छ।

यसैबीच, बिरगंजमा झाडापखालाका कारण ३ जनाको मृत्यु भएको बताइएको छ। यद्यपि उनीहरूको मृत्यु हैजा संक्रमणकै कारण भएको औपचारिक पुष्टि भएको छैन। मृत्यु हुनेमा पोखरिया नगरपालिका–९ की १९ वर्षीया युवती, बिरगंज–१६ का ३७ वर्षीय पुरुष, र मुर्लीका २२ वर्षीय युवक रहेका छन्। उनीहरूलाई अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको र कोलेरा परीक्षण हुन नपाएकाले हैजाका कारण मृत्यु भएको हो भन्ने निस्कर्षमा पुग्न नसकिने जनस्वास्थ्य कार्यालयका ठाकुरले जानकारी दिए।

बिरगंज हेल्थ केयर अस्पतालका सञ्चालक डा. अबुलहैस अंसारीले एक दिनमै युवतीको मृत्यु हुनु अस्वाभाविक भएको भन्दै, परीक्षण नभए पनि हैजा नै मृत्युको कारण हुनसक्ने आशंका व्यक्त गरेका छन्।

संक्रमण फैलिएको क्षेत्रहरूको पहिचान भइसकेको छ। बिरगंज महानगरपालिकाको वडा नं. ११, १२, १३, १४, १६ र पोखरिया नगरपालिकामा हैजाको संक्रमण पुष्टि भएको छ। प्रारम्भमा बिरगंजको मुर्लीस्थित नयाँ टोलमा हैजा देखिएको थियो, जुन क्रमशः अन्य क्षेत्रहरूमा फैलिएको हो।

यस संक्रमणलाई नियन्त्रणमा लिन बिरगंज महानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय सक्रिय भएका छन्। स्वास्थ्यकर्मीहरूको टोली प्रभावित क्षेत्रहरूमा खटाइएको छ भने दूषित पानी, अस्वच्छ खाद्यपदार्थ र खुला दिसाबाट संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ। स्थानीय बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार हैजा दूषित पानी र खाद्यपदार्थबाट सर्ने पानीजन्य रोग हो। यो रोगबाट बच्न सधैं उमालेको वा सुरक्षित पानी पिउनु, हातको सरसफाइमा ध्यान दिनु, खुला खाना नखानु र लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु अत्यावश्यक हुन्छ।

हैजा नियन्त्रणमा ल्याउनका लागि सार्वजनिक ढोका, धाराहरूको सरसफाइ, खानेपानीको गुणस्तर परीक्षण, सचेतना कार्यक्रम, र औषधि वितरण जस्ता कार्यहरू आवश्यक छन्। स्थानीय प्रशासन र स्वास्थ्य निकायबीच समन्वय गरेर अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।