ओखलढुङ्गा ।
सामुदायिक मिसन अस्पताल ओखलढुङ्गाका बिरामीहरूलाई व्यक्तिगत सरसफाइका सामाग्रीहरू वितरण गरिएको छ । महिलाहरूको पर्व तीजको अवसरमा अस्पतालमा रहेका बिरामीहरूलाई नेकपा एमालेका जन वर्गीय सङ्गठनहरू अखिल नेपाल सङ्घ ओखलढुङ्गा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ओखलढुङ्गाको सक्रियतामा सरसफाइका सामाग्री वितरण गरिएको हो।
तीजको अवसरमा अस्पतालमा उपचाररत ५० जना बिरामीहरूलाई व्यक्तिगत सरसफाइका सामाग्रीहरू वितरण गरिएको अखिल नेपाल महिलासङ्घ ओखलढुङ्गाले जनाएको छ । सरसफाइका सामाग्रीमा नुहाउने सावन, ब्रस, मन्जन, नैनी, कपडा धुने सावनका साथै अण्डा वितरण गरिएको अखिल नेपाल महिलासङ्घ ओखलढुङ्गाका सचिव विमला धमलाले बताएका छन् । उनका अनुसार अखिल नेपाल महिला सङ्घ ओखलढुङ्गा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ओखलढुङ्गाका सदस्यहरूले स्वेच्छिक रकम सङ्कलन गरेर सरसफाइका सामाग्रीहरू खरिद गरी वितरण गरिएको हो ।
पछिल्लो समयमा तीज निक्कै भड्किलो हुदै गएकाले तीजमा भित्रिँदै गएको भड्किलो संस्कार रोक्नका लागी अखिल नेपाल महिला सङ्घ ओखलढुङ्गाले तीजको अवसरमा सेवाको कार्य थालनी गरेको अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य इच्छा कुमारी गुरुङको भनाई रहेको छ ।
नेकपा एमाले राष्ट्रिय सल्लाहकार परिषद् सदस्य उत्तम राई, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य मोहन कुमार श्रेष्ठ, अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य इच्छा कुमारी गुरुङको उपस्थितिमा सामाग्री वितरण गरिएको हो । सामाग्री वितरण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ओखलढुङ्गाका अध्यक्ष, अखिल नेपाल महिला सङ्घ ओखलढुङ्गाका अध्यक्ष एवम् अखिल नेपाल महिला सङ्घ ओखलढुङ्गा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ओखलढुङ्गाका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।











प्रतिक्रिया