सीमा विवादमा दुवै देशसँग परिणाममुखी वार्ता आवश्यक

1.22k
Shares

काठमाडौँ ।

नेपाल– चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा फ्रेण्डस एन दि क्लाउड: प्लेटफर्म अफ इन्फुलेन्स नेपालले मुलुकको विकासमा चीनको भूमिका विषयमा छलफल आयोजना गरेको छ । 

बत्तिस पुतलीस्थित होटल तपसमा आयोजना गरिएको कार्यक्रममा चीनका लागि नेपालका पूर्व राजदूत एवं पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले लिपुलेख, लिम्पियाधुरा र कालापानी नाका हुँदै भारत– चीन बीच व्यापारिक सहमति भएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुझबुझ पूर्ण कदम चाल्नुपर्ने बताएका छन् । 

यहिबेला प्रधानमन्त्री ओलीको भारत र चीन दुवै मुलुकमा भ्रमण रहेकोले लिपुलेख, लिम्पियाधुरा र कालापानी नाकाको विषयमा अनुकूल वातावरण बनाएर दुवै देशसँग परिणाममुखी वार्ता गर्नुपर्ने पूर्व परराष्ट्रमन्त्री पाण्डेको सुझाव छ । 

प्राध्यापक डा. सुरेन्द्र केसीले नेपालको सुरक्षामा चीननै ढाडसको रुपमा रहेको बताए । उनले अंशुवर्मा, भृकुटी, अरनिको लगायतबाट जोडिएको नेपाल– चीन सम्बन्ध अहिले राजनीतिक र जनस्तरसम्मै बलियो हुँदै गएको बताए । 

परराष्ट्रविद् डा. मनिता कुशीले नेपालको समग्र हित र विकासको लागि चीनको भूमिका अपरिहार्य रहेको बताईन । 

कार्यक्रम आयोजक संस्था फ्रेण्डस एन दि क्लाउड: प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष समाजसेवी शोभित उप्रेतीले चीन आर्थिक रुपमा विश्वको पहिलो शक्ति बन्नै लाग्दा नेपाल भने झिनामसिना कुरामा अड्किनु दुःखद रहेको बताए । उनले नेपाल– चीन बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको विषय आफैमा गौरवमय रहेको उल्लेख गर्दै चीनको समृद्धिबाट नेपालले पनि लाभ लिनसक्नुपर्ने बताए । 

कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ, राजनीतिज्ञ, जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।