वीरगञ्ज।
वीरगन्ज केहीदिनदेखि हैजाको प्रकोप देखिएको छ । वीरगन्ज महानगरमा समुदायस्तरमै हैजाको सङ्क्रमण फैलिएको हो । यसैका कारण विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ ।दुई दिन यता वीरगन्जको शहरी वडाहरुमा झाडापखालासंगै हैजाका बिरामीहरूको संख्या निरन्तर बढ्दै गएपछि त्यसको नियन्त्रण र रोकथामा जुटेको वीरगन्ज महानगरपालिकाले भदौ ८ र ९ गते दुई दिनका लागि सम्पूर्ण विद्यालयहरु बन्द गरेको हो ।विगत केही दिनदेखि बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै भदौ ८ र ९ गते दुई दिनका लागि वीरगन्ज महानगरका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको वीरगन्ज महानगरपालिकाले एक सूचना जारी गरी जानकारी दिएको छ ।
महानगर क्षेत्रभित्र हालका लागि पानीपुरी, चाट, चटपटे (भाजा) आदिको बिक्री वितरणमा पनि रोक लगाइएको छ ।खुल्ला रुपमा बिक्री वितरण हुदैं आएका यस्ता खाद्यपदार्थमा प्रयोग हुने पानी दूषित भई हैजाका जीवाणु मिसिने सम्भावना भएकाले ती खाद्यपदार्थ बिक्रीवितरणमा रोक लगाइएको छ ।
वीरगन्ज महानगरपालिकामा शनिबार बिहान मेयर राजेशमान सिंहले वीरगन्जका अस्पतालहरुका प्रतिनिधिहरुसंग गरेको आकस्मिक बैठकले हैजाको रोकथाम र नियन्त्रणका लागि स्थानीय स्तरमा सचेतना फैलाउन र तत्काल रेस्पोन्स गर्नका लागि स्वास्थ्यकर्मीहरुको २५ वटा टोली गठन गरेर परिचालन गर्ने निर्णय पनि गरेको छ ।यसका साथै हेल्प डेस्क र सूचना केन्द्र स्थापना गर्ने निर्णय पनि गरिएको जानकारी दिइएको छ ।
बैकठमा मेयर राजेशमान सिंहले झाडापखाला वा हैजाका बिरामीको उपचारमा गम्भीरताका साथ लाग्न अस्पतालहरुलाई निर्देशन दिएका थिए । अस्पतालका प्रतिनिधिहरुसंगको आकस्मिक बैठकअघि शनिबार बिहान नै मेयर सिंहले महानगरपालिकाका ३२वटै वडाका स्वास्थ्यकर्मीहरुसंगपनि छुट्टै बैठक गरेका थिए । उक्त बैठकमा मेयर सिंहले झाडापखाला र हैजाको सङ्क्रमित क्षेत्रमा प्राथमिकताका आधारमा खटिएर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन पनि स्ट्यान्डबाइमा राखिएको भन्दै उनले अहिले वीरगन्ज महानगरको १ देखि १६ नम्बर वडा हैजाको बढी जोखिमयुक्त क्षेत्र मानिएको छ । महानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, शुक्रबारदेखि शनिबारसम्मको प्राप्त रिपोर्ट अनुसार १७ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ ।
तराई हस्पिटलमा ८ , नारायणी अस्पतालमा ५ , नेशनल मेडिकल कलेजमा ३ र अलि अर्थो सेन्टरमा १ गरी हालसम्म १७ जना बिरामीमा हैजाको सङ्क्रमण पुष्टि भइसकेको उनले जानकारी दिए ।हैजा पुष्टि भएका बिरामीहरु वडा नम्बर ११,१२ ,१३ र १४ का रहेको उनले बताए । वीरगन्ज विभिन्न अस्पतालमा अहिले झाडापखाला र हैजाका शंकास्पद बिरामी गरी २ सय भन्दा बढी उपचारत रहेको उनको भनाइ छ ।











प्रतिक्रिया