फोहर व्यवस्थापन केन्द्रमा तालाबन्दी, नगर क्षेत्रमा फोहर थुप्रियो


कन्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहले तालाबन्दी गरेपछि नगर क्षेत्रको फोहर सङ्कलन र विसर्जन ठप्प भएको छ। तीन वर्षअघि भएको ११ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै समूहले केन्द्र बन्द गरेपछि झलारी, वन समिति र कलुवापुर बजारमा फोहर थुप्रिएको हो।

करिब ३० करोड लागतमा एडीबीको सहयोगमा निर्माण गरिएको उक्त केन्द्र सञ्चालनमा नआउँदा नगरपालिका सामुदायिक वनकै जग्गामा फोहर विसर्जन गर्दै आएको थियो। तर उपभोक्ता समूहले उक्त कार्यमा रोक लगाएपछि समस्या उत्पन्न भएको हो।

समूहका अनुसार अन्य क्षेत्रको फोहर नल्याउने, स्थानीयलाई ग्यास र रोजगारी दिने, तटबन्ध निर्माण, सडक बत्ती, स्वास्थ्य सेवा लगायतका विषयमा सहमति भए पनि पालना नभएको छ। नगरपालिकाले अझै संवाद नगरेको भन्दै समूहले आन्दोलनका कार्यक्रम चाँडै घोषणा गर्ने चेतावनी दिएको छ।