कसरी लिने इम्बोस्ड नम्बर प्लेट ?


काठमाडौं ।

इम्बोस्ड नम्बर प्राप्त गर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गएर अनलाइन फारम भर्नु पर्छ । यसका लागि वेबसाइटमा भएको स्क्रिनको दायाँतिर भएको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ मा क्लिक गर्नुपर्छ ।
स्क्रिनमा देखा पर्ने विभिन्न विकल्पमध्ये अन्तिममा रहेको ‘अनलाइन आवेदन गर्नुहोस्’ भन्ने अप्सनमा तोकिएको स्थानमा थिच्नु पर्छ ।

यस पश्चात नयाँ विन्डोज खुल्छ । त्यसमा भएको स्क्रिनको दायाँतिर ‘गेट स्टार्टेड’ भन्ने विकल्पमा क्लिक गर्नुपर्छ ।
त्यसपछि सिस्टमले माग गरेको विवरणहरू भर्नुपर्छ । यसमा पुराना अर्थात् अञ्चलबाट जारी भएको नम्बर प्लेटको हकमा भने कार्यालय कोड राख्नुपर्ने ठाउँलाई छोडेर अन्य; जारी गरिएको प्रदेश वा अञ्चल, सवारीको लट कोड, वर्गीकरण र नम्बर राख्नुपर्छ ।

यसपछि तपाईंको मोबाइल नम्बर र ईमेलमार्फत भेरिफिकेसन कोड प्राप्त हुन्छ ।
यसपछि सवारीको विवरण र व्यक्तिगत विवरण भर्नुपर्छ । त्यसपछि तपाई आवेदनको अर्को चरणमा पुग्नुहुन्छ । जहाँ तपाईंले आफ्नो ब्लुबुक, नागरिकता वा पासपोर्ट, रकम भुक्तानी गरेको भौचर, सवारी कर भुक्तानीको भौचर लगायतका कागजातहरूको तस्बिर पेश गर्नुपर्छ ।

यसपछि नेक्स्ट अप्सनमा क्लिक गरेर सम्पूर्ण जानकारी भेरिफाई गरी आवेदन दिन स्क्रिनको दायाँतिर गएर सब्मिटमा क्लिक गर्नुपर्छ ।
यी सबै प्रक्रिया पूरा गरेपछि इम्बोस्ड नम्बर प्राप्त हुन्छ । प्राप्त भएको इम्बोस्ड नम्बर लिएर सम्बन्धित यातायात कार्यालयमा गई आफ्नो इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ ।

जडान शुल्क

यातायात व्यवस्था विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रे तथा मझौला सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई ३ हजार ६ सय रुपैयाँ जडान शुल्क निर्धारण गरेको छ ।

जडान गर्ने स्थान

विभागले दुई पांग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, तीन पांग्रे सवारी र साना तथा मझौला चार पांग्रे सवारीका लागि सवारी परीक्षण कार्यालय, टेकू र ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी एकान्तकुना, ललितपुरमा व्यवस्था मिलाएको छ । त्यस्तै सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवनमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ ।