त्रिभुवन राजपथसहित वैकल्पिक सडकहरू पहिरोले अवरुद्ध


काठमाडौं ।

मकवानपुरको हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ शुक्रबारको वर्षापछि खसेको पहिरोका कारण अझै अवरुद्ध छ। भीमफेदी गाउँपालिका–१ बागझोरामा गिटी बालुवा सहितको भल र सुपारे टार ब्यारेक नजिक खसेको ठुलो पहिरो हटाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिरो पन्छाउन शनिबार बिहानदेखि दुईवटा मेसिन परिचालन गरिएको भए पनि सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ। प्रमुख मार्ग बन्द हुँदा वैकल्पिक मार्गहरू—भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–सिस्नेरी–काठमाडौँ र कान्ति लोकपथ समेत अवरुद्ध भएका छन्।

यातायात रोकिँदा हेटौंडाबाट काठमाडौँ जाने तथा काठमाडौँबाट हेटौंडा आउने सवारी साधनहरू विभिन्न स्थानमा रोकिएका छन्।