१५ वर्ष बित्दा पनि रानी जमरा कुलरिया सिँचाइ आयोजना अधुरै


काठमाडौँ ।

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना १५ वर्ष बितिसक्दा पनि अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन। आर्थिक वर्ष २०६७|६८ मा सुरु भएको आयोजनाको भौतिक प्रगति हालसम्म ७४.७६ प्रतिशत मात्र पुगेको छ। प्राविधिक समस्या, कानुनी अड्चन, कर्णाली नदीको धार परिवर्तन, अतिक्रमण, र बजेटको अनिश्चितताले आयोजना ढिलो भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

आयोजनाले हालसम्म १४ हजार २०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको छ भने लक्ष्य ३८ हजार ३०० हेक्टरको रहेको छ। ४.७१ मेगावाट विद्युत उत्पादन भइसकेको छ तर आम्दानी व्यवस्थापनमा अन्योल छ। लागतसमेत पहिलो अनुमानित १२ अर्ब ३७ करोडबाट बढेर अहिले २९ अर्ब ५९ करोड नाघिसकेको छ।

सरकारले आयोजनाको म्याद तेस्रोपटक थप्दै २०८५|८६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ। तर जग्गा अधिग्रहण, अतिक्रमण, तथा नदी नियन्त्रणमा दीर्घकालीन उपाय आवश्यक रहेको सिँचाइ विभागले जनाएको छ।