काठमाडाैं।
नेकपा (माओवादी केन्द्र) निकट किसान, मजदुर, दलित र सुकुम्बासी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग भएको दोहोर्याएका छन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी चीन–भारतबीच लिपुलेकलाई समेटेर भएको व्यापारिक सम्झौताप्रति कडा आपत्ति जनाएका हुन् ।
संयुक्त विज्ञप्तिमा भारतले लिपुलेक आफ्नो भूभाग भएको दाबी गर्नु र चीनसँग गरेको सम्झौता नेपालको सार्वभौमसत्तामाथि प्रत्यक्ष हस्तक्षेप भएको आरोप लगाइएको छ । साथै, सरकार मौन बसेको भन्दै ती संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउबामाथि गम्भीर आलोचना गरेका छन् ।
‘नेपालको सहमति बिना दुई छिमेकी राष्ट्रहरूले नेपाली भूभाग प्रयोग गर्ने सम्झौता गर्नु नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात हो,’ विज्ञप्तिमा भनिएको छ ।
चार जनसंगठनहरूले नेपाल सरकारलाई तत्काल कूटनीतिक पहलमार्फत उक्त सम्झौता खारेज गर्न माग गरेका छन् । साथै, राष्ट्रिय स्वाधीनता र भू–अखण्डताको पक्षमा सबै देशभक्त, प्रगतिशील शक्तिहरू, किसान, मजदुर, दलित र सुकुम्बासीलाई एकजुट हुन आह्वान गरिएको छ ।











प्रतिक्रिया