काठमाडौँ ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर युनाइटेड किंगडम (युके) पठाइदिन्छु भनी ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कास्की पोखरा–१४ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने २९ वर्षीय बसन्त कार्कीलाई बुधवार (भदौ ५ गते) नयाँबानेश्वरबाट नियन्त्रणमा लिइएको हो।
कार्कीले ‘EDU Search Nepal’ बानेश्वर मार्फत विदेश पठाइदिन्छु भन्दै युवायुवतीलाई लामो समयसम्म झुक्याइ राखेका थिए। उनले पीडितलाई युकेमा रोजगारी दिलाइदिने वाचा गरे पनि विदेश नपठाई सम्पर्कविहीन भएका थिए।
पीडित ८ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान गर्दै कार्कीलाई पक्राउ गरेको हो। उनले पीडितबाट जम्मा ४३ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कार्कीलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रहरी उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले यस्ता भ्रामक प्रलोभनमा नपर्न आम नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।











प्रतिक्रिया