अटो क्षेत्रमा २ खर्बभन्दा बढी कर्जा प्रवाह


काठमाडौं ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रमा २ खर्ब रुपियाँभन्दा बढी कर्जा प्रवाह भएको जानकारी दिनुभएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसनले १७औँ नाडा अटो शोको अवसरमा आयोजना गरेको ‘कर्जा नीतिमा स्थिरता ः अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तरक्रियामा उहाँले हालको लोन टु भ्यालु (एलटीभी) रेसियो सवारी साधनअनुसार परिमार्जन गर्न सकिने भन्दै सो जानकारी दिनुभएको हो ।

पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाले मात्र नभई हायर पर्चेज कम्पनीहरूले समेत अटो क्षेत्रमा ठूलो मात्रामा कर्जा प्रवाह गरेका छन् । अहिले करिब १० वटा हायर पर्चेज कम्पनीमार्फत मात्र २६ अर्ब रुपियाँभन्दा बढी कर्जा प्रवाह भएको छ ।
किस्ताबन्दीमा गाडी खरिद गर्ने संस्कृतिले बजार विस्तारलाई सहज बनाएको भन्दै विदेशमा समेत ६०–८० प्रतिशतसम्मको एलटीभी लागू हुने भए पनि नेपालमा व्यक्तिगत र व्यावसायिक गाडीका लागि फरक मापदण्ड अपनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अटोमोबाइल क्षेत्रमा प्रवाह भएको कर्जा अन्य क्षेत्रको तुलनामा बढी सुरक्षित भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार निजी गाडी खरिद गर्दा ग्राहकको सम्पत्ति धितो राखिने भएकाले जोखिम न्यून हुन्छ भने व्यावसायिक सवारीमा भने चुनौती बढी रहन्छ । भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत बाबुराम शर्माले गाउँ–गाउँसम्म पुगेर कर्जा प्रवाह गरिएको र विद्युतीय गाडीको माग बढेसँगै त्यसतर्फ कर्जा आवश्यकतामा वृद्धि भएको बताउनुभयो ।

नाडाका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटो क्षेत्रमा लगानी गर्ने व्यक्तिले पछाडि फर्किनु नपर्ने भन्दै कर्मचारीहरूलाई मोटरसाइकल तथा गाडी किन्न २० वर्षको लागि ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । साथै लोन टु भ्यालु रेसियो सहज बनाउनसमेत जोड दिनुभयो । सोही अवसरमा आयोजित अर्को कार्यक्रममा लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भने नीतिगत तालमेलमा कमी भएको भन्दै एउटै काम सम्पन्न गर्न चार–पाँच निकाय धाउनुपर्ने बाध्यताले समय र श्रम दुवै खर्च हुने भएकाले सरकारले प्रक्रियालाई सरल बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।