एमाले ब्रान्ड बनेको भण्डारीको टिप्पणीपछि पार्टीभित्र तरंग


काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको जन्म हुनुअघि नै आफू कम्युनिस्ट आन्दोलनमा सक्रिय भएको स्मरण गर्दै अहिलेको एमालेलाई ब्रान्डजस्तै बनेको टिप्पणी गरेपछि एमालेभित्र तरंग पैदा भएको छ । काठमाडौंको थापाथलीस्थित मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले आफ्नो राजनीतिक यात्राको स्मरण गर्नुभएको थियो ।

‘हामी शुरू हुँदा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन । भोजपुरमा रातो झण्डा ग्रुप थियो, त्यसपछि कोअर्डिनेसन केन्द्र, माले हुँदै माक्र्सवादीसँग एकता भएपछि मात्र एमाले बनेको हो’ –उहाँले भन्नुभयो ।

उहाँले अहिलेको एमालेलाई ब्रान्डमात्र बनाइएको भन्दै असल अर्थमा यो नेपाल कम्युनिस्ट पार्टी हो भन्ने स्पष्टीकरण दिनुभयो । भण्डारीले दलहरूले सुशासन कायम गर्न असफल भएको आरोप लगाउनुभयो । उहाँले संसद्लाई निरीह थलो भएको बताउँदै संविधान संशोधनबारे राजनीतिक दलहरू गम्भीर नभएको भन्दै आलोचना गर्नुभयो ।

साथै, आरोप लाग्नेबित्तिकै निर्वाचित प्रतिनिधिहरूलाई निलम्बन गर्ने प्रावधानप्रति प्रश्न उठाउँदै यो लोकतान्त्रिक अभ्यासविपरीत भएको तर्क पनि गर्नुभयो ।कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य कर्ण थापालगायतका नेताहरूको उपस्थितिलाई एमालेभित्र महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ । फाउन्डेसनलाई लिएर विगतमा अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक कटाक्ष गर्दै आउनुभएको छ ।

ओलीले फाउन्डेसनलाई पार्टीको समानान्तर संरचनाजस्तो भन्दै आलोचना गर्दै आउनुभएको छ । तर, एमालेका शीर्ष तहका नेताहरू भण्डारीको कार्यक्रममा देखिनुले ओली–भण्डारीबीचको सम्बन्ध र पार्टीभित्रको आन्तरिक समीकरण फेरि विवादमा आउने सम्भावना बढेको देखिन्छ ।

अब एमाले महासचिव शंकर पोखरेल र पार्टी नेतृत्वले यसप्रति कस्तो प्रतिक्रिया दिन्छन् भन्नेमा सबैको ध्यान केन्द्रित छ । पार्टीले कार्यक्रममा सहभागी भएका नेताहरूविरुद्ध कुनै कारबाही गर्छ वा पार्टी एकताको सन्देश दिएर मुद्दालाई टार्छ भन्ने द्विविधा देखिएको छ ।

विद्या भण्डारी अहिले कुनै औपचारिक पदमा नरहे पनि पार्टीभित्र उहाँको राजनीतिक वजन अझै प्रभावशाली छ । उहाँले सार्वजनिक रूपमा एमालेलाई ब्रान्डमात्र भन्नु, सुशासन र संविधान संशोधनबारे प्रश्न उठाउनु, अनि एमालेका वरिष्ठ नेताहरूको सक्रिय उपस्थिति यी सबैले एमालेभित्र शक्ति सन्तुलनमा नयाँ प्रश्न खडा गरेको छ ।

अध्यक्ष ओलीले यसलाई व्यक्तिगत गतिविधि भन्दै पन्छाउने हो वा भित्रभित्रै असन्तुष्ट ध्रुवीकरणको संकेत मान्ने हो यही कुराले आगामी दिनमा एमालेको अनुशासन र एकतालाई निर्धारण गर्ने देखिन्छ । अब एमालेले कारबाहीमार्फत संगठन नियन्त्रण बलियो बनाउने कि लचिलो रणनीति अपनाएर नेताहरूलाई भित्रै समेट्ने भन्ने निर्णयले पार्टीको आगामी दिशा निर्धारण गर्ने भएको छ ।