शिक्षा विधेयक संसदीय समितिबाट बहुमतले पारित


काठमाडौं ।

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको हो । विधेयकका सम्बन्धमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत पेस गरेको थियो ।

माओवादी केन्द्रका सांसद देवेन्द पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत, महिन्द्रराय यादव र रास्वपाका सांसद सुमना श्रेष्ठ र राप्रपाका सांसद बिना जैसवालले प्रस्तावित विधेयकमा फरक मत राख्नुभएको थियो ।

विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय पनि टुंगो लगाइएको छ । जसमा सरकारले साढे २ प्रतिशत छात्रवृति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ ।

बिहीबार पारित विधेयक आगामी प्रतिनिधिसभा बैठकमा पेस गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।