लिपुलेक प्रकरणमा राष्ट्रिय ऐक्यबद्धता आवश्यक : महामन्त्री शर्मा


काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दामा सबै नेपाली एउटै राष्ट्रिय दृष्टिकोणमा उभिनुपर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल एक्समा उनले यस विषयमा सरकार, संसद र सबै राजनीतिक दलबीच ऐक्यबद्ध पहल आवश्यक रहेको उल्लेख गर्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन्।

शर्माका अनुसार यो विषय नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तासँग जोडिएको भएकाले राजनीतिक मतभेदभन्दा माथि उठेर साझा धारणा बनाउन जरुरी छ।

शर्माले प्रस्ताव गरेका ६ बुँदा यस्तो छ :

१. सरकारले आह्वान गर्ने सर्वदलीय/सर्वपक्षीय बैठकमार्फत साझा दृष्टि निर्माण।

२. बैठकमार्फत विकसित घटनाक्रममा हाम्रो ऐक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता सुनिश्चित गर्ने।

३. संविधानको अनुसूची ३ मा २०७७ जेठ ३१ गते संसदले सर्वसम्मत पारित गरेको ‘चुच्चे नक्सा’लाई देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्ट गर्ने।

४. भारत र चीनबीच २०१५ मे १५ मा लिपुलेकबारे भएको सहमतिसम्बन्धी नेपालले पठाएको कूटनीतिक नोटलाई स्मरण गर्दै पछिल्लो सहमतिबारे पनि कूटनीतिक नोट पठाउने।

५. ऐतिहासिक तथ्यका आधारमा दुवै छिमेकीलाई विश्वासमा लिएर प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दा प्रमुखतासाथ उठाउने।

६. नेपाल–भारत सिमासम्बन्धी समाधानका लागि ७ वर्षअघि तयार भएको प्रबुद्ध व्यक्तिहरुको समूह (EPG) को प्रतिवेदन दुवै प्रधानमन्त्रीले बुझेर त्यसलाई आधार मानेर अन्य विषयहरुको समेत समाधान खोज्ने प्रस्ताव गर्ने।