काठमाडौं ।
नेपाल सरकार र कोरिया गणतन्त्र सरकारबीच ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान अन्तर्गत गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास’ परियोजना कार्यान्वयनका लागि करिब ९ मिलियन अमेरिकी डलर (झण्डै १ अर्ब २५ करोड रुपियाँ) बराबरको अनुदान सम्झौतामा हस्ताक्षर गरिएको छ ।
सम्झौतामा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र कोरिया गणतन्त्रका नेपालस्थित राजदूत पार्क ते–यङले हस्ताक्षर गरेका हुन् । समारोहमा राजदूत पार्क ते–यङले यो परियोजना भवन र पूर्वाधारमा मात्र सीमित नभई मानव संसाधन, सिप र नेपालको भविष्यका लागि आवश्यक जनशक्ति निर्माणमा केन्द्रित हुने बताए । उनका अनुसार, यस परियोजनामार्फत कोरियाले नेपालको क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ ।
अर्थसचिव उपाध्यायले कोरियाले लामो समयदेखि नेपालकै शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै यस सम्झौताले नेपालको विकासप्रति कोरियाको प्रतिबद्धता अझ मजबुत बनाएको बताए । उनका अनुसार, कोरियाली पहल श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गरी रोजगारीका अवसर बढाउने र नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्नेछ ।
अर्थ मन्त्रालयका अनुसार, परियोजनाको कार्यान्वयन निकाय कोरिया सरकारको तर्फबाट कोरियन इन्टरनेसनल को–अपरेसन एजेन्सी रहनेछ भने नेपाल सरकारको तर्फबाट गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान रहनेछन् ।
सो परियोजना सन् २०३० डिसेम्बर ३१ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अर्थ मन्त्रालयका अनुसार, यसको मुख्य उद्देश्य नेपालकै प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम नीति र सोह्रौँ योजनासँग मेल खाने गरी २१औँ शताब्दीको आवश्यकता अनुरूप सक्षम र दक्ष जनशक्ति उत्पादन गर्नु हो ।











प्रतिक्रिया