काठमाडौं ।
सुरक्षाकर्मीलाई कसैले ठग्न सक्दैन भन्ने भाष्य अब गलत भएको छ । पछिल्लो समय उपत्यका अपराध महाशाखामा कार्यरत एक प्रहरी कर्मचारीले गरेको बदमासीको घटना बाहिरिएपछि प्रहरी कर्मचारी नै छक्क परेका छन् । उपत्यका अपराध अनुसन्धान महाशाखामा कार्यरत प्रहरी सहायक निरीक्षक विनोद पौडेल आफैंले आफ्ना साथी प्रहरी र सर्वसाधारणलाई करोडौं रुपियाँ ठगी गरेको तथ्य बाहिरिएको छ ।
महाशाखाभित्रै कार्यरत तल्लो दर्जाका प्रहरीलाई विदेश पठाइदिनेजस्ता विभिन्न प्रलोभनमा पारेर करिब १ करोड ५० लाख रुपियाँ उठाएको खुलेको छ । त्यस्तै, महाशाखामा कार्यरत पेन्सनधारी प्रहरी कर्मचारीलाई समेत वैदेशिक रोजगारको नाममा ठगी गरेको महाशाखाले पुष्टि गरेको छ ।
प्रसनि पौडेलले संगठनभित्र सीमित नरही सर्वसाधारणमा पनि ठगीको जालो फैलाएको अनुसन्धानबाट खुलेको छ । उनले चिनजानका नागरिकलाई विभिन्न बहाना बनाई झण्डै ३ करोड ५० लाख रुपियाँ असुली गरेका छन् । ठगीमा परेकामध्ये सिन्धुपाल्चोक र धादिङका सर्वसाधारणसमेत छन् । पैसा लिएपछि पौडेल सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दर्ता गरेका हुन् ।
काठमाडौं जिल्ला अदालतले पौडेलविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । महाशाखाका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पुर्जी जारी भएको छ, पौडेल फरार छन् । उनको खोजी कार्य जारी छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पौडेल पछिल्लो समय उपत्यका बाहिर कतै लुकेर बसिरहेको आशंका गरिएको छ । प्रहरीको आन्तरिक निगरानी टोली र अनुसन्धान इकाइले पौडेलको सम्पर्क, बैंक कारोबार र सम्भावित सहयोगीहरूबारे छानबिन तीव्र पारेको बताइएको छ ।
सुरक्षाकर्मी स्वयं ठग्ने र ठगिने घटनाले प्रहरी संगठनकै विश्वसनीयता माथि प्रश्न उठेको छ । प्रहरीकै बर्दी लगाएर यस्ता आपराधिक गतिविधि हुँदा सार्वजनिक विश्वासमा धक्का लागेको विशेषज्ञहरू बताउँछन् । महाशाखाले पीडितहरूसँग सोधपुछ गर्दै अनुसन्धान अघि बढाएको छ । हालसम्म १५ भन्दा बढी पीडितले निवेदन दर्ता गरिसकेको र अन्य पीडितहरू पनि उजुरी दिन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानकर्ताहरूले पौडेलले उठाएको रकम कहाँ–कहाँ लगानी भयो, कसलाई बाँडफाँट ग¥यो भन्नेबारे खोजीलाई प्राथमिकता दिएको जनाइएको छ । यसअघि उनले वैदेशिक रोजगारमा लगानी गर्ने नाममा केही रकम अवैध हुन्डी कारोबारमा समेत प्रयोग गरेको प्रारम्भिक शंका प्रहरीले गरेको छ ।
यो घटनाले प्रहरीभित्रै छानबिन प्रक्रिया, आन्तरिक नियन्त्रण संयन्त्र र अनुशासन प्रणालीबारे पुनः बहस शुरू भएको छ । प्रहरी संगठनले आफ्नो इज्जत जोगाउन थप निगरानी र पारदर्शी प्रक्रिया अपनाउनुपर्ने दबाब बढेको छ । सामाजिक सञ्जालमा समेत पौडेल प्रकरणले व्यापक चर्चा पाइरहेको छ ।
‘हामीले प्रहरीकै बर्दी लगाएको मान्छेमा विश्वास ग¥यौँ । अब कसलाई विश्वास गर्ने ? हाम्रो पैसा गएर मात्र हैन, आत्मसम्मान पनि खोसिएको जस्तो लाग्छ’ –एक पीडितले भने । करोडौंको ठगी गरेर फरार भएका प्रहरी सहायक निरीक्षक पौडेलको खोजी अबको केही दिनमै टुंगिने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया