बागलुङका अधिकांश गाउँका बासिन्दा टुकी र दियाको भरमा रात कटाउन बाध्य


काठमाडौं ।

बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर गाउँमा अझै पनि विद्युत सेवा पुग्न सकेको छैन। झण्डै ३ सय घरधुरी रहेको यस गाउँका अधिकांश बासिन्दा टुकी र दियाको भरमा रात कटाउन बाध्य छन्।

फाट्टफुट्ट केही घरमा सोलार प्यानल भए पनि सम्पूर्ण गाउँमा विद्युत विस्तार नहुनु दुस्खद अवस्था हो। स्थानीय हाइड्रोपावरबाट तार तानेर बिजुली ल्याउने योजना बने पनि कार्यान्वयन हुन सकेको छैन। सञ्चारको पहुँचबाट टाढा रहेका स्थानीय अन्धकारमै जीवन यापन गरिरहेका छन्।

गाउँमा खानेपानी र सडक सुविधा पुगिसकेको भए पनि विद्युत सेवा अझै नपुगेको गुनासो छ। गाउँपालिकाका अनुसार विद्युत पुर्‍याउन संघीय र प्रदेश सरकारसँग सहकार्य भइरहेको छ।