समाचार स्रोत मागिएकोमा महासंघको ध्यानाकर्षण


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत मागेकोमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलवार प्रेस विज्ञप्ति प्रकाशित गर्दै गत साउन ११ गते ‘सामान्य प्रशासन मन्त्री गुप्ता लाखौंको घुस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी शीर्षकको समाचारसँग सम्बन्धित अडियो र यही साउन १८ गते प्रकाशित ‘७० लाख घुस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण’ भन्ने समाचारको स्रोत उपलब्ध उपलब्ध गराउन आयोगले उक्त पत्रिकाको प्रकाशन संस्थालाई पत्राचार गरेको विषयमा महासंघको ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

साथै महासंघले समाचारको स्रोत संरक्षण गर्नु पत्रकारिताको सिद्धान्त, धर्म र संवैधानिक अधिकार भएको र पत्रकार आचारसंहिताले पनि समाचार स्रोतको संरक्षणको व्यवस्था गरेकाले आयोगले पत्रकारिताको सिद्धान्त, संविधान तथा आचारसंहिताको प्रावधानविपरीत भएको बुझाइ रहेको प्रस्ट पारेको छ ।

प्रकाशित समाचारप्रति असहमति भए विधि प्रक्रियाअनुसार कारबाही गर्ने बाटो हुँदाहुँदै आयोगले समाचारको स्रोत माग्नु प्रेस स्वतन्त्रताविपरीत कार्य हुन जाने भएकाले तत्काल पत्र फिर्ता लिई विधिमा फर्कन महासंघले सम्बद्ध पक्षसँग माग गरेको छ ।