काठमाडौं ।
सर्वोच्च अदालतले डिम्ब कारोबारमा रोक लगाउन आदेश जारी गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार सो आदेश जारी गरेको हो ।
डिम्ब कारोबारलाई वैधानिकता दिँदा बालिका तथा किशोरीहरूको शोषण हुने जोखिम रहेको भन्दै अधिवक्ता अंकिता त्रिपाठीले सो कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटको अन्तिम टुंगो नलागेसम्म डिम्ब संकलन, भण्डारण, प्रत्यारोपण नगर्न र गर्न नदिन सर्वोच्चको आदेशमा भनिएको छ । साथै, यसको कारोबार नियन्त्रणका लागि निगरानी प्रभावकारी बनाउन पनि सर्वोच्चले आदेश गरेको छ ।
आदेशमा लेखिएको छ, ‘बालिका तथा किशोरीहरू शोषण हुन सक्ने जोखिम र सुविधा सन्तुलनलाई समेत दृष्टिगत गरी प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म नेपाल राज्यभर महिला तथा बालबालिकाबाट डिम्ब निष्कासन तथा भण्डारण गर्ने कार्यमा रोक लगाई सरकारको नियमन र निगरानी प्रभावकारी बनाउनू भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ । यो आदेशको जानकारी विपक्षीहरूलाई तत्काल पठाइदिनू ।’
बालबालिकालाई कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा, शारीरिक, मानसिक यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न रोक लगाइएको र त्यस्तो कार्य दण्डनीय हुने व्यवस्थासमेत स्मरण गराउँदै सर्वोच्चले बालबालिकाको मौलिक हक संरक्षण गर्न सरकारका सरोकारवाला निकायहरूलाई आदेश दिएको छ ।











प्रतिक्रिया